स्पेसएक्सद्वारा १७ अर्ब डलरमा इकोस्टारबाट स्पेक्ट्रम इजाजतपत्र खरिद


न्युयोर्क । एलन मस्कको स्पेसएक्सले अमेरिकी अपरेटर इकोस्टारबाट १७ अर्ब डलरमा स्पेक्ट्रम इजाजतपत्र किनेको छ ।
यो सम्झौता स्टारलिङ्क नेटवर्क सञ्चालनलाई सुदृढ पार्ने योजनाको एक महत्त्वपूर्ण अंश भएको दुवै कम्पनीले सोमबार जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

सम्झौताअनुसार, इकोस्टारको बुस्ट मोबाइल ग्राहकहरूलाई अब स्पेसएक्सको स्टारलिङ्क ‘डाइरेक्ट–टु–सेल’ सेवामा अतिरिक्त समर्पित टर्मिनलको आवश्यकता बिना नै पहुँच उपलब्ध हुनेछ ।

स्पेसएक्सले सन् २०२४ को सुरुवातमा पहिलो डाइरेक्ट–टु–सेल उपग्रह प्रक्षेपण गरेको थियो । यस सेवामार्फत सुरुमा पाठ सन्देश र चेतावनी सुविधा उपलब्ध गराइएको थियो भने अहिले दुर्गम क्षेत्रका प्रयोगकर्ताले अनुप्रयोग, सामाजिक सञ्जाल र सन्देश प्लेटफर्महरूमा पहुँच गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ ।

यी सेवाहरू विस्तार गर्न स्पेसएक्सले उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलिया, जापान, स्विट्जरल्यान्ड र युक्रेनलगायतका देशका १० वटा अपरेटरहरूसँग साझेदारी गरेको छ ।

“विश्वको ५० प्रतिशतभन्दा बढी भूभाग स्थलीय सेवामार्फत खुला गरिएको छ”, स्पेसएक्सले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
कम्पनीका अनुसार, नयाँ पुस्ताको ‘डाइरेक्ट–टु–सेल’ कन्स्टेलेसनको विकास र प्रक्षेपण जारी राख्दा, अधिकतम ग्राहकलाई सर्वव्यापी कभरेज दिन विश्वव्यापी रूपमा मोबाइल नेटवर्क अपरेटरहरूसँग सहकार्य गर्ने प्रतिबद्धता रहेको छ ।

यस घोषणापछि न्युयोर्क स्टक एक्सचेन्जमा प्रि–मार्केट इलेक्ट्रोनिक कारोबारमा, करिब एक हजार दुई सय जिएमटीमा, इकोस्टारको सेयर मूल्य २२ प्रतिशतले बढेर ८२ डलर पुगेको छ ।