काठमाडौं । जेनजी पुस्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । शान्तिपूर्ण आन्दोलनमा सरकारले निर्मम दमन गरेकाले वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको भन्दै जेनजी पुस्ताले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।
विज्ञप्ती जारी गरी जेनजी पुस्ताले तीनकुने घटनाभन्दा पनि भयावह तरिकाले घरका छतबाट अश्रु ग्यासको वर्षा गरिएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘दर्जनौँ युवाहरूमाथि गोली प्रहार गरिएको छ, सयौँ घाइते भएका छन्। तीनकुने घटनाभन्दा पनि भयावह तरिकाले घरका छतबाट अश्रु ग्यासको वर्षा गरिएको छ। यस निर्दयी दमनसँगै वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको छ।’
उसले लाखौँको संख्यामा नयाँ पुस्ता सडकमा आइसकेकाले वैकल्पिक सरकारको बाटो खोल्नु अपरिहार्य रहेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज, बुद्धिजीवी वर्ग तथा अन्तर्राष्ट्रिय समुदायलाई यो यथार्थलाई स्वीकार गरी जिम्मेवार ढंगले अघि बढ्न अपील गर्दछौँ। गोली र अश्रु ग्यासले अब युवाहरूको आवाज दबाउन सकिँदैन। न्याय, मर्यादा र नयाँ राजनीतिक भविष्यको माग सडकमा गुञ्जिएको छ, र कुनै पनि दमनले त्यसलाई रोक्न सक्ने छैन।’
जेनजीले घाइतेहरूको निःशुल्क र गुणस्तरीय उपचार गर्नुपर्ने माग समेत अघि सारेका छन्।

प्रतिक्रिया