एउटा गतिलो कानुनसम्म बनाउन नसक्ने, अनि राष्ट्रिय स्वाभिमानको कुरा उठाएर हजारौंको रोजगारी खोस्ने ?


-नारायण गाउँले ।

आज एआईमा खर्बौं रुपैयाँ लगानी भएको छ । प्रविधिमात्रै होइन, क्यान्सरदेखि मुटुरोगसम्मको उपचारका लागि खर्बौं रुपैयाँका अनुसन्धान र परीक्षण चलिरहेका छन् । ती सबै परीक्षण सफल हुने र लगानी फिर्ता हुने भन्ने हुँदैन । सयौँ प्रयासमध्ये एक सफल हुन्छ । तर खुला विश्वका कारण त्यो सफलता हामीले बिनालगानी उपभोग गर्न पाउँछौँ । हामीलाई जुम्लामा सडक खन्ने पैसा खर्च गरेर काठमाडौंमा डेटा सेन्टर खोल्न, अर्बौं रुपैयाँ ऋण लिएर सर्भर राख्न र अर्बौं रुपैयाँ लगानी गरेर आफ्नै एआई मोडल तयार गर्न कसैले रोक्दैन ।

तर पूर्वाधारमा एक सुका खर्च नगरी ती सुविधा चलाउन पाइनु उदार विश्वको एउटा अद्भुत उपहार हो । आज हामीले लगानी नगरेको, सुरुमा अर्बौंको घाटा नबेहोरेको र हाम्रो बजार खोज्दै र खोस्दै आफैं नआएको फेसबुक, टीम या युट्युब आज सबैजसो नेपालीले निःशुल्क चलाउँछन् । चलाउने मात्रै होइन, कृषकदेखि शिक्षकसम्म, कर्मचारीदेखि उद्योग व्यवसायीसम्मले यसबाट अपार लाभ उठाएका छन् । आफ्नो पेशा र व्यवसायलाई माथि उठाएका छन् । आज काठमाडौंमैं बसी बसी अस्ट्रेलिया र अमेरिकाबाट राजश्व उठाएका छन् ।

नेपाल सरकारले यस्तो टूल्स, सेवा र प्रविधि दिन पर्दो हो त कति गाह्रो हुन्थ्यो । हामी धेरै जसोले ओपनएआईको च्याटजिपीटी चलाउँदै छौं, तर न यसमा अलिकति लगानी गरेका छौं न अहिले पनि अर्बौं रुपैयाँ घाटामा चलिरहेको यो स्टार्टअपको घाटा देशले बेहोर्नुपर्छ । यसको घाटा र रिस्क हाम्रो होइन, तर यसको सफलता भने हाम्रो पनि हो । आज एआईले हाम्रो शिक्षा, स्वास्थ्य, व्यवसाय र जीवनमा कति धेरै सहजता ल्याएको छ, जसका लागि हामीले केही गरेकै छैनौं । बुझ्ने हो भने कस्तो सुन्दर छ । देशमा आज गर्नुपर्ने र सल्टाउनुपर्ने कति धेरै कुरा छन् ।

समय, ध्यान र साधनस्रोत खर्च गर्नुपर्ने हजार क्षेत्र छन् । तर हामी फेसबुक र युट्युब बन्द गर्ने कि खोल्ने भन्नेमा समय कटाउँदै छौं । बन्द भयो भयो, होइन खुल्यो खुल्यो…भन्नु हाम्रो दैनिकी भएको छ । एउटा गतिलो र पारदर्शी कानुनसम्म बनाउन नसक्ने, आफूले गरेको निर्णय र बनाएको कानुन आफैंले नमान्ने, जेमा पनि नियन्त्रण गर्नेतिर मात्रै सोच्ने अनि वैश्विक नागरिकका रूपमा यो पुस्ताले हासिल गरेका आयाम र विकासलाई पनि सङ्कुचित बनाउन खोज्ने कार्य गतिलो होइन ।