-डा. युवराज संग्रौला ।
शिक्षानै राष्ट्रको विकासको प्राण हो । शिक्षा विना गाउँमा ४ लेनको सडक बन्नु, विजुलीका तार टांगिनु, अग्ला घर बन्नु आदिको कुनै तुक छैन । शिक्षाले दिमाग र हात दुवै चलाउन पोख्त पार्छ । अझ, हेर्ने र देख्ने कला उन्नत र वैज्ञानिक पार्छ ।
१. तपाईं यात्रामा जानुहोस्, नेपालमा । सुन्दर झर्नाहरु देखिन्छन् । डिग्री बोकेकाले त्यो झर्नामा बगेको पानी देख्छ र तस्बिर खिच्छ । तर शिक्षितले त्यो झर्नामा देशलाइ घनी पार्ने धन देख्छ । कोही घुम्न जापान र चीन जान्छन् । डिग्रीवालाले त्यहाँ अग्ला भवन र चौंडा सडक देख्छन्, तर शिक्षितले त्यहाँ अनुशासन र देशप्रतिको निष्ठा देख्छन्, मानिसको श्रम देख्छन् । हाम्रो शिक्षाले के बनायो नेपालीलाई ? यदि हामीले पृथक दृष्टि भएका मानिस जन्माउने शिक्षाका बारेमा सोचेनौं भने नेपाल ‘गार्बेज’ को डंगुर मात्र हुनेछ, स्कुल र कलेजको ।
२. शिक्षा स्कुलको भवन होइन । त्यसभित्रको पुस्तकालय हो । त्यहाँ अध्यापन गर्ने गुरु हो । त्यस गुरुको ज्ञान हो। त्यो गुरुले पेटभरि खान पुग्ने तलब हो। तर नेपालीले त स्कुललाई भवनमात्र देख्छ । उसले स्कुलका गुरुको सोच्ने, पर्गेल्ने, र विचार निर्माण गर्ने क्षमता खोज्दैन, वा देख्दैन । किनकी त्यहाँ उसको आवश्यकता दिमागको निर्माण होइन, कागजमा प्रिन्ट गरिएको डिग्री वा प्रमाणपत्र मात्र हो । त्यो खोस्टो उसलाई विदेश जान चाहिन्छ ।
३. नेपालमा मानिसले राम्रो स्कुलमा धेरै बस, स्विमिङ्ग पुल, अंग्रेजी जीब्रो र पश्चिमी नाम खोज्छ । त्यहाँ नयाँ वस्तु बनाउने हात होइन, बनाएको बिगार्ने हात धेरै हुन्छन् । त्यहाँ ताकत कलममा होइन, मुड्कीमा हुन्छ। स्कुल बैंक जस्तै हुन्छ। बैंक पनि मालिकका हुन्छन् र स्कुल पनि मालिकका, कतै धनका मालिकका कतै राजनीतिका मालिकका ।
देशले खोजेको स्कुल कस्तो हो जहाँ उन्नत दृष्टि चुस्त हात र सक्रिय दिमाग बन्छ र मानिसको जीवन उन्नत र मानवीय बन्छ ? त्यो स्कुलको नक्सा सायद यस्तो हुन्छ। त्यो फराकिलो जमिनमा खेतीपातीका बीचमा हुन्छ। त्यहाँ विद्यार्थीहरुले कक्षामा किताब र आँगनमा फलफूल र खेती पढछन् । त्यहाँ विद्यार्थीले मेसीनको हिसाब र विज्ञानको कर्तुत सिक्छन् र आमाको शरीर र आमाको मुटुको चित्र बनाउँछन् । मानिस बस्ने समाजको रहस्य केलाउँछन् र गरिब रामबहादुरलाई घनी बनाउने र धनी श्याम बहादुरलाई सेवक बनाउने कला सिक्छन् । यस्तो स्कुल ‘न सरकारी हो न निजी’। त्यो त केवल शिक्षालय हो। त्यस्तो स्कुल न व्यापारीले बनाउँ न नेताले । त्यतो स्कुल त गुरुले बनाउँछन् । आज देश किन अपमानित, भाग्ने ठाउँ, र केही उत्पादन नगर्ने र केही नबनाउने अनि सामाजिक संजालमा अस्लिलता प्रदर्शन गर्ने गार्बेज बन्यो ? किनकी हामीलाई विदेशीले ‘काँक्रो भनेर भोर्लाको बीउ दिए।’ लहरो त लाग्यो तर काँक्रो फलेन। त्यसैले स्कुल पठाएकी गीता पढी सकेर आउँदा गीटा भै, स्कुल पठाएको हरि पढेर आउँदा ह्यारी भएर आयो। अनि देश उनालई मन परेन । हामीलाई गीता र हरि दिने शिक्षा चाहिन्छ, जसले पानीमा विजुली देखोस्, जरामा औषधि देखोस्, खेतमा जीवन देखोस, र देशमा भरोसा देखोस् । शिक्षाको नयाँ ढाँचा सोचौं जसले देशलाई समुन्नत नेपाल बनाउँछ ।

प्रतिक्रिया