सामाजिक सञ्जालको नियमन र व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गर्न आयोगको निर्देशन


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गरी सामाजिक सञ्जालको नियमन र व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गर्न निर्देशन दिएको हो ।

आयोगले भनेको छ, ‘नेपाल सरकारले सामाजिक सञ्जालहरुलाई बन्द गर्ने भनी गरेको निर्णयप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्ताहरुमा असर पार्नेे मात्र नभई लोकतान्त्रिक शासन व्यवस्थाको मर्म र मानव अधिकारको मूल्यमान्यताविपरीत समेत हुन जान्छ ।’

आयोगका अनुसार, कुनै पनि सेवाप्रदायकलाई सेवा सञ्चालन गर्नुपूर्व नै कानुनीरूपमा दर्ता गराउने, सूचीकृत गर्ने वा नियमन गर्ने गराउने कर्तव्य, दायित्व र अधिकार सरकारको रहन्छ । तर, नियमन र व्यवस्थित गर्ने नाममा लामो समयदेखि सञ्चालनमा रहेका र आमनेपालीको अभिव्यक्ति र सञ्चारको जीवनशैली बनिसकेका सामाजिक सञ्जाल बन्द गर्न नहुने आयोग भनाइ छ ।