प्रधानमन्त्रीको चीन भ्रमणबारे यस्तो छ परराष्ट्र सचिव राईको ब्रिफिङ


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किएपछि परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता र भ्रमण उपलब्धिबारे जानकारी दिँदै यस्तो बताएका हुन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधामन्त्री ओली भदौ १४ मा त्यसतर्फ प्रस्थान गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीलाई जानकारी दिँदै भ्रमण टोलीमा सँगै रहेका सचिव राईले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति एवं उपराष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता तथा अन्य विभिन्न राष्ट्रका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीको भ्रमणको मूल उद्देश्य चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिई सो सङ्गठनमा नेपालको सहभागिताको स्तर अभिवृद्धि गर्नाका साथै त्यसमार्फत नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्नु रहेको थियो ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भदौ १४ गते चीनका राष्ट्रपति सीसँग थियानजिनमा भेट गरी द्विपक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयमा खुला र हार्दिकतापूर्ण छलफल गरेको मन्त्रालयले जनाएको छ ।

शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्ध समस्यारहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा पुर्याउँदै आएको निरन्तर सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको सचिव राईले बताए । प्रधानमन्त्री ओलीले शाङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनको सफलताको कामना गर्दै सो संस्थामा नेपालको पूर्ण सदस्यताको समर्थनका लागि चिनियाँ राष्ट्रपतिसँग अनुरोध गरेका थिए ।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सहमति भएकालगायत विभिन्न परियोजनाको शीघ्र कार्यान्वयन हुनेमा आशा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले रासायनिक मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तनको प्रभावसँग जुध्ने क्षमता अभिवृद्धि तथा जनस्तरको सम्बन्ध सुदृढीकरण जस्ता क्षेत्रमा सहयोगका लागि अनुरोध गरेका थिए ।

भारत र चीनबीच भएको लिपुलेक सहमतिप्रति आपत्ति

प्रधानमन्त्री ओलीले नेपालको भूभाग लिपुलेक नाकामार्फत सीमा व्यापार गर्नेसम्बन्धी भारत र चीनबीच हालै भएको समझदारीप्रति आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न चीनका राष्ट्रपतिलाई अनुरोध गरेको सचिव राईले वाचन गरेको प्रेस नोटमा उल्लेख छ ।

चीनका राष्ट्रपति सीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने कार्यमा चीनको सहयोग रहने अभिव्यक्ति दिएका थिए । साथै उनले चीनले संयुक्त राष्ट्रसङ्घ र शाङ्घाई सहयोग सङ्गठनलगायत बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने उल्लेख गरेका थिए ।

चीनका राष्ट्रपतिले एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गर्दै दुई देशबीच सहमति भएका उच्च–गुणस्तरीय बीआरआई परियोजनाको कार्यान्वयनमार्फत नेपालको विकासमा चीनको निरन्तर सहयोग रहने कुरा दोहोर्याएको प्रेस नोटमा उल्लेख छ ।

थियानजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन शिखर सम्मेलनमा सहभागितापश्चात् प्रधानमन्त्री ओलीले बेइजिङको भ्रमण गरी बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्ग भदौ १७ गते द्विपक्षीय भेट गरी नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल गरेका थिए । यस्तै, प्रधानमन्त्री ओली भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजित ८०औँ विजयोत्सव तथा विशेष सैनिक परेडमा समारोहमा सहभागी भएका थिए ।