-जेपी गुप्ता
अहिले सवारी साधनहरूमा इम्बोस्ड नम्बर प्लेटको बडो ठूलो चर्चा छ। कयौं महिना अघि सरकारले इम्बोस्ड नम्बर प्लेट व्यवहारमा ल्याउने निर्णय गरेको हो, तैपनि खासै चर्चा थिएन । नागरिक समाजमा तथा संचार क्षेत्रमा दरो पकड भएका कनकमणि दीक्षितले सरकारले लागू गर्न लागेको यो इम्बोस्ड नम्बर प्लेट कुनै पनि हालतमा देवनारी लिपीमा नै हुनुपर्छ, किमार्थ पनि अंग्रेजी भनौं वा रोमन लिपीमा हुनु हुँदैन भनी अभियान चलाउनु भएपछि अब यो केपी शर्मा ओलीको चुच्चे नक्सा भित्र लुकेको राष्ट्रवाद भन्दापनि भाषिक राष्ट्रवादको जोशिलो सवाल बन्न गएको छ। मेरा इलामे मित्र धर्म गौतमले त एक लेखमा इम्बोस्ड शब्दलाई नै ‘भुक्के संकेतांक’ भनेर लोकार्पण गरिदिनु भएको छ।
धेरै पहिला, शायद १२–१५ वर्षअघि थुनामा हुँदाका बखत टर्कीका राष्ट्रपिता कमाल अतातुर्कको जीवनी, ‘ATATURK: The Rebirth of a Nation’ पढेको थिएँ, आज केही प्रसंगको याद आएको छ, असाधरण पुस्तक थियो त्यो। अटोमन साम्राज्यबाट टर्की मुक्ति भएपछि आउने शताब्दियौंमा आफ्ना नागरिकहरूले बेहोर्ने चुनौतीहरूको आंकलनगरी त्यसको मुकाविला गर्नसक्ने राष्ट्र बनाउने स्वप्नजीवी राजनेताको प्रेरणादायी वृत्तान्त थियो।
आजको टर्की सिपाही राजनेता कमाल मुस्तफाको सिर्जना हो, जसले भूमध्य सागर र काला सागरको साँधमा रहेको पूर्वी र पश्चिमी सभ्यताको मिलन विन्दुमा अवस्थित मध्ययुगीन अरबहरूको इस्लामी प्रभावमा जकडिएको राष्ट्रलाई सम्मुन्नत बीसौं शताब्दीमा प्रवेश गराए । भनिन्छ, मुलुकहरू भित्रको जनसंख्याको स्वरूपले शासनका प्राथमिकता तथा सोचहरूको निर्माण गर्दछ। कट्टर इस्लामी र अनुदार क्रिश्चियन प्रभावका राष्ट्रहरूको के कुरा, ऐतिहासिक कालदेखि बहुसाँस्कृतिक परिवेशमा रहेका भारत, पाकिस्तान, बंगलादेश, इन्डोनेशिया, मलेशिया जस्ता मुलुकहरू आज धार्मिक, साँस्कृतिक रूपमा प्रतिगमनका बाटोमा छन्। नेपालकै कुरा गरूँ, गणतन्त्रको स्थापनापछि यो मुलुक समावेशिता, भाषिक स्वतन्त्रता, धार्मिक सहिष्णुता जस्ता मापकहरूका आधारमा प्रतिगमनकै बाटोमा त छन्।
अनि कल्पना गरौं, अटोमन साम्राज्य विस्थापित भैसकेको त्यसबखतको टर्कीमा ग्रीससँगको जनसंख्या साटासाट (सन् १९२३) पछि ठूलो संख्यामा इसाई ग्रीक र अर्मेनियनहरू टर्कीबाट बाहिरिए। त्यो समय थियो, जब टर्कीमा कूल जनसंख्याको ९८% भन्दा बढी जनसंख्या मुसलमानहरू हुन गए, मुख्यतः सुन्नीहरू। स्वयं अतातुर्क जन्मजात मुसलमान थिए। जबकी संसार नै बदलिने तेस दौरमा टर्कीले कमाल मुस्तफाको नाममा यौटा यस्तो नेता पायो, जसले आउने दशकौंपछि एक समय जडवादी अरब समाजको अनिवार्य क्षय हुनेछ। त्यस बखतको संसारमा सान्दर्भिक भै समुन्नत हुनका लागि अरब संसार पश्चिमाहरूको संगतमा अरबी तथा फारसीबाट अंग्रेजीमा अनुवाद गरी संसार बुझ्नु पर्ने हुन्छ। त्यस समयमा भूगोलको फाइदा उठाएर टर्कीले युरोपसँग सहकार्यको इतिहास बोकेर स्वयं युरोपलाई नै टक्कर दिइरहेको हुन्छ–चिन्तन र भविष्य उन्मुख सोचको यो प्रक्षेपण गरेका थिए, अतातुर्कले । त्यसबेला कति कति कठिन भयो होला उनलाई, परम्परागत अरवी लिपि भविष्यमा उपयोगी नहुन सक्दछ भन्ने ठोस आंकलनका साथ आफ्नो मुलुकमा शताब्दियौंदेखि प्रयोगमा रहेको अरबी लिपि नै परिवर्तन गरेर ल्याटिन लिपीलाई टर्की भाषामा लागु गरे।
यस ऐतिहासिक तथा साहसिक निर्णय पछि टर्की जहाँको साक्षरता दर १० प्रतिशत भन्दा कम थियो, केही दशकमै ३० प्रतिशत पुग्यो। अरब जगतले टर्कीको यस निर्णयलाई इस्लाम बिरोधी भनी कडा आलोचना गर्यो, तर यो एक निर्णय नै युगान्तकारी भयो। कमाल अतातुर्क यति मै सीमित रहेनन्। उनले यसैक्रममा परम्परागत इस्लामी क्यालेन्डरलाई समेत परिवर्तन गरेर आधुनिक पश्चिमी क्यालेन्डर प्रयोगमा ल्याए। अरब नागरिकहरू र अन्य इस्लामीहरू झैं टर्किसहरूले पनि आफ्नो नाममा पारिवारिक थर प्रयोग गर्दैनथे। तर, कमाल मुस्तफाले समाज रूपान्तरणको नयाँ अभियानको नेतृत्व गर्दै नामको अगाडि पारिवारिक थर राख्ने चलन बसाए। परिणामतः राष्ट्रपति कमाल मुस्तफा जो परम्परागत नाममा अझ कमाल पासा थिए, कमाल अतातुर्क भए। धर्मलाई राज्यबाट अलग्ग पारियो, टर्कीलाई धर्म निरपेक्ष राष्ट्र बनाईयो। यसअघि खिलाफातको समाप्ति, शरीयत अदालतको खारेजीको घोषणा गरियो। खिलाफात त्यस बखतको सर्वमान्य इस्लामिक धार्मिक–राजनीतिक संस्था थियो जसलाई पैगम्बर मोहम्मदको उत्तराधिकारी मानिन्थ्यो, यसको निलम्बन कम ठुलो सहासको कुरो थिएन। यस सानो आलेखमा म टर्कीका ती निर्णयहरूको फेहरिस्तमा जान चाहन्न्।
म आज सोचमा निमग्न भएको छु कि नेपालमा आज हामी कहाँ फस्दै गैरहेका छौं ? अत्यन्त राम्रा, अनुभवी मानिसहरू समेत भावना बहकाएर समाजमा आफ्ना बिशिष्ट खाले उपस्थिति जनाउने कार्यमा लागेका छन्। मानौं, रोमन लिपीमा यदि इम्बोस्ड प्लेट जारी भएमा कुनै ठूलै विपद् मुलुकले व्यहोर्नु पर्नेछ । सरकार शुरूमै चुकेको छ। यो निर्णय लिनु पहिल्यै गम्भीर बिमर्श हुनुपथ्र्यो। रोमन लिपीमा वा अंग्रेजीमा यसरी हठात् मेटर गाडीहरूको नम्बर प्लेट लागु गराई छोडनुको पछाडी यदि कुनै आर्थिक चलखेल छ भने त्यसलाई उजागर गरेर कानूनको सम्मुख उभ्याउनु उचित हो । अन्यथा, हरेक सवाल र निहुँमा सर्वसाधारणको संवेदनशीलतालाई ध्रुवीकरण गर्दै लानु कसरी व्यवहारिक हुन्छ र ? भाषाको सम्वद्र्धन तथा विकासका लागि आफ्नै बाटाहरू त छन् नि !

प्रतिक्रिया