काठमाडौं । पहिलो टी–२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ४१ रनले हराएको छ । नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७ ओभर २ बलमा १३६ रनमा अलआउट भयो ।
एसीटीका स्मिथले सबैभन्दा धेरै ५० रन बनाए । नेपालका सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए । यस्तै करण केसीले २ र रूपेश सिंहले १ विकेट लिए ।
यसअघि अस्ट्रेलियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनायो । नेपालका आसिफ शेखले ६९, कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ रन बनाए ।
एसीटीका इभान्स, दुबे र रहमान र ब्रुनकरले २/२ विकेट लिए । ५ खेलको अभ्यास खेलमा नेपालले आजै दोस्रो टी–२० खेल्दैछ । टप इन्ड टी–२० शृङ्खलापछि नेपालले थप ५ वटा अभ्यास खेल्न लागेको हो ।
टप इन्ड टी–२० शृङ्खलामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले अस्ट्रेलिया भ्रमण गरेको हो ।

प्रतिक्रिया