लामाचौर कप भलिबल प्रतियोगितामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु


पोखरा । लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत आइतबारदेखि खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा ६ टिमले भाग लिएका छन् ।

लिग चरणको खेलमा आयोजक, जिएम समाज, ढुंगेदेउराली क्लब र एपिएफ क्लब पोखरा विजयी हुँदै समान ३ अंक बटुलेका छन् ।

२ खेल खेलेका माछापुच्छ्रे  गाउँपालिका खेलकुद विकास समिति र कृष्णदल फूलबारी अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिए । समूह ‘ए’ मा रहेको आयोजकले आइतबार बिहान माछापुच्छ्रे गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेट ३३–३१ मा जितेकोमा दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१८ मा आफ्नो पक्षमा पार्दै विजयी यात्रा सुरुवात गरेको हो । दोस्रो खेलमा जिएम समाजले कृष्णदललाई २५–२०, २५–१८ र २५–२३ सेटमा हरायो । तेस्रो खेलमा ढुंगेदेउरालीसँग कोर्ट उत्रिएको माछापुच्छे गाउँपालिकाले पुनः हार व्यहोर्न पुग्यो ।

आइतबारकै चौथो खेलमा एपिएफ क्लबले कृष्णदलको चुनौती सोझो सेटमै पन्छायो । एपिएफ २५–२०, २५–२१ र २५–१९ सेटमा विजयी भएको हो । समूह ‘ए’ मा आयोजकसहित ढुंगेदेउराली छन् । समूह ‘बि’ मा जिएम समाज र एपिएफ छन् । सोमबार पनि लिग चरणकै खेल हुने रेफ्री बिमल रानाले जानकारी दिए ।