वर्तमान संविधान असफल भए देशमा अकल्पनीय द्वन्द्व उत्पन्न हुन्छः गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपालमा शान्ति निर्माणका चुनौति विषयक कार्यक्रममा गृहमन्त्री लेखकले भने, ‘हामीले ठीक ढंगले बुझ्दिनुपर्छ । द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो । दुबै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन हुँदैन । द्वन्द्वरत पक्षका बीचमा सम्झौता भएर संविधान बनेको हो ।’

द्वन्द्वको रुप परिवर्तन भए पनि द्वन्द्व कायम रहेको गृहमन्त्री लेखकको भनाइ छ । देशमा उत्पन्न द्वन्द्व र अस्थिरताले धेरै संविधान बन्ने अवस्था सिर्जना हुने गरेको गृहमन्त्री लेखकले स्मरण गरे । उनले भने, ‘अहिलेसम्म नेपालमा सात वटा संविधान बने । धेरै संविधान बन्ने कुरा राम्रो होइन । धेरै सडक, पुल, विद्यालय, अस्पताल बन्ने कुरा राम्रो हो ।’

वर्तमान संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व हुने गृहमन्त्री लेखकको भनाइ छ । यस्तै संविधानले गरेको अधिकारको बाँडफाँटले द्वन्द्व उत्पन्न गराइरहेको भन्दै त्यसको व्यवस्थापन आवश्यक रहेको गृहमन्त्री लेखकले बताए ।