मेची भन्सारको राजस्व बढ्यो


झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा एक अर्ब २६ करोड ५० लाख ७९ हजार राजस्व संकलन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७.७४ प्रतिशतले बढी हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको साउनमा एक अर्ब १७ करोड ४० लाख ९१ हजार राजस्व संकलन भएको थियो।

‘मेची भन्सारबाट गत आवको साउनको तुलनामा चालु आवको सोही महिनामा आयात ४.९० प्रतिशत र निर्यात १४.६८ प्रतिशतले घटेको छ। आयात निर्यातमा कमी आए पनि राजस्व रकम भने आयातबाट ६.८७ प्रतिशत र निर्यातमा ८०.१४ प्रतिशतले बढेको छ।’

काँकरभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ, यातायातका साधन र तिनका पाटपुर्जा, खनिज उत्पादन, जुत्ताचप्पल, सौन्दर्य प्रसाधनलगायत आयात हुने गरेको छ। यहाँबाट चिया, अलैँची,अम्रिसो, अदुवालगायत उत्पादन निर्यात हुने गरेको छ।