काठमाडौं । नेपाली कांग्रेसले रातो पासपोर्ट बोकेर उपसभामुख इन्दिरा राना एनजिओको कार्यक्रममा अमेरिकामा गएको भन्दै आपत्ति जनाएको छ ।
बुधबार संसद बैठकअघि संसद भवनमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्र्रेस सांसद रामहरि खतिवडाले उपसभामुखको अमेरिका भ्रमणबारे जिज्ञासा राखेका हुन् । खतिवडाले उपसभामुखको भ्रमण संसदको हो कि बाहिरको हो भन्दै सभामुखलाई जिज्ञासा राखेका थिए ।
जवाफमा सभामुख देवराज घिमिरेले उहाँ व्यक्तिगत भ्रमणमा गएको बताएका थिए । त्यसपछि सांसद खतिवडाले उपसभामुख त्यसरी रातो पासपोर्ट बोकेर धेरै पटक विभिन्न कार्यक्रममा गएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । उनले भने, ‘उपसभामुख सांसदसँग सम्बन्धित कार्यक्रममा जानुभएको हो कि अरू कुनै एनजिओ, आइएनजीओको कार्यक्रममा ? सभामुखलाई जानकारी गराउनुभएको होला । रातो पासपोर्ट बोकेर उपसभामुख पटक पटक विदेश जान मिल्छ कि मिल्दैन ?’
सभामुखले व्यक्तिगत भ्रमण रहेको र त्यसबारे धेरै टिप्पणी नगर्ने बताए । उपसभामुख राना अहिले अमेरिका भ्रमणमा छिन् । उनी अमेरिका भ्रमणका रहेका बेला कांग्रेस र एमालेले उनलाई हटाउन हस्ताक्षर संकलन गरिरहेका छन् ।
उपसभामुख रानाले उपसभामुखको लेटरप्याडमा विभिन्न व्यक्तिहरुलाई अमेरिकाको भिसा दिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको विषयमा उनीविरुद्ध छानबिनको माग भइरहेको छ । यही विषयलाई मुख्य आधार बनाएर उपसभामुखविरुद्ध महाभियोगको तयारी गरिएको हो ।
उपसभामुख संवैधानिक परिषदको सदस्य हुने भएकोले उपसभामुख आफ्नो दलबाट बनाएर संवैधानिक परिषदमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्ने कांग्रेसको योजना छ । यसकै लागि उपसभामुखविरुद्ध महाभियोगको तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया