जसपा नेपालले भन्यो-मधेश आन्दोलनलाई कमजोर पार्ने र अध्यक्षलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने दुष्प्रयास भयो


काठमाडौं । जनता समाजवादी पार्टी नेपालले गौर हत्याकाण्डका सम्बन्धमा सर्वोच्च अदालतबाट परमादेश जारी भएको विषयप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी प्रवक्ता मनिषकुमार सुमनले बुधबार विज्ञप्ति जारी गरी सर्वोच्च अदालतबाट आदेशको पूर्णपाठ वा संक्षिप्त आदेश नै नआउँदै आदेशसँगको मुद्दामा पक्ष वा विपक्षको रुपमा रहँदै नरहेको राजनीतिक दल तथा अध्यक्षलाई लक्षित गर्दै सम्प्रेषण भएको समाचार पूर्णरुपमा पूर्वाग्रही भएको भन्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतबाट आदेशको पूर्णपाठ वा संक्षिप्त आदेश नै नआउँदै, सर्वोच्च अदालतबाट जारी भएको आदेशसँगको मुद्दामा पक्ष वा विपक्षको रुपमा रहँदै नरहेको यो राजनीतिक दल तथा यसका अध्यक्षज्यूलाई लक्षित गर्दै सम्प्रेषण भएको समाचार पूर्णरुपमा पूर्वाग्रही, भाम्रक तथा सस्तो लोकप्रियताका लागि नियतवश सम्प्रेषण गरिएको हुँदा त्यस कार्यप्रति भत्सर्ना समेत गर्दछौं ।’

उनले राजनीतिक विषयमा राजनीतिक शक्तिहरूबाट नै समाधानको बाटो खोजिनु उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यो राजनीतिक विषयमा राजनीतिक शक्तिहरूबाट नै समाधानको बाटो खोजिनु पर्ने हुँदाहुँदै, आम सञ्चार माध्यममा भनिए अनुसार यसमा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको परमादेशको आदेश अनुसार पुनः निष्पक्ष, विश्वसनीय एवं वस्तुपरक रुपमा अनुसन्धान हुने भएमा पनि आती हाल्नु पर्ने अवस्था नरहेको तर्फ आफ्नो अधिकार प्राप्तीका लागि सँधै सङ्घर्षरत रहँदै आउनु भएका सम्पूर्ण मधेशी अधिकारकर्मी, पार्टी पंक्ति, नेपाली दाजुभाइ दिदी बहिनी तथा दलसँग आवद्ध नेता कार्यकर्ता र शुभेच्छुक, शुभचिन्तकहरू सबैमा हार्दिक अनुरोध गर्दछौं ।’

त्यस्तै उनले नेता कार्यकर्तालाई सर्वोच्च अदालतबाट जारी भएको आदेशको विरुद्धमा वा सम्मानित अदालतलाई लक्षित गरी कुनै प्रकारको कृयाकलाप नगर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतबाट जारी भएको आदेशको पूर्णपाठ वा संक्षिप्त आदेश नै नआउँदै विभिन्न सञ्चार माध्यमबाट अपुष्ट रुपमा सम्प्रेषण गरिएको भ्रामक समाचारमा विश्वास गरी सम्मानित सर्वोच्च अदालतबाट जारी भएको आदेशको विरुद्धमा वा सम्मानित अदालतलाई लक्षित गरी कुनै प्रकारको कृयाकलाप वा गतिविधि नगर्न, नगराउन तथा त्यस्तो कार्यमा सरिक समेत नहुन हार्दिक अपिल समेत गर्न चाहन्छौं । साथै सर्वोच्च अदालतको आदेशप्रति पूर्ण सहयोग गर्न माननीय अध्यक्ष श्री उपेन्द्र यादव ज्यू तथा जनता समाजवादी पार्टी, नेपाल सदैव तयार रहँदा रहदै, मधेश आन्दोलनलाई कमजोर पार्ने र अध्यक्षलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने दुष्प्रयास स्वरुप आम संचार माध्यमबाट अतिरंजित पूर्ण रुपमा समाचार सम्प्रेषण गर्दै जनमानसमा भ्रम मार्फत द्वन्दको सृजना गर्ने कार्य नगर्न आम सञ्चार माध्यमहरुलाई समेत हार्दिक अपील गर्न चाहन्छौ ।’