गौर हत्याकाण्ड र अदालती आदेश


-ऋषि कट्टेल ।

आजभन्दा झण्डै दुई दशकअघि गौर हत्याकाण्डको नामले चिनिएको अपराधिक हत्याकाण्ड भएको थियो । जसमा २७ जना जनताका छोरा छोरीले ज्यान गुमाउका थिए भने सयौको संख्यामा घाइते भएका थिए । आजसम्म त्यस्तो क्रुरतम् अमानवीय हत्यालाई राजनीतिक जामा ओढाएर संरक्षित गरियो । माओवादी पार्टी स्वयं पनि युद्धवाट भर्खर शान्ति प्रक्रियामा आएको र उसले पनि कैयौं निःसश्त्र नागरिकको क्रुरतापूर्वक हत्या गरेको हुँदा उसलाई आफ्ना त्यत्रा कार्यकर्ताको नृसंस हत्या हँुदा आवाज उठाउने र अपराधिलाई दण्डित गर्ने नैतिक साहस भएन । अर्कोतिर राज्यपक्ष या माओवादी विरोधीहरुलाई पनि माओवादी मारिएकोमा कुनै चासो भएन । हत्यामा संलग्न शक्ति खुलेआम यो अपराध हो भने माओवादीले गरेको हत्या पनि अपराध किन हैन भन्दै उल्टै माओवादी माथि प्रश्न तेस्र्याउन थाल्यो । जसको कारण निहत्या जनताको हत्या हुँदा पनि उनीहरुले न्याय पाएनन् । गौर हत्याकाण्ड राजनीतिक हैन । विशुद्ध अपराधिक घटना हो ।

ढिलै भएपनि यो घटनाको फेरि जाँचबुझ गर्ने आधार अदालतको निर्णयले दिएको छ । जनताका छोराछोरीलाई वलिवेदीमा चढाएर आफ्नो स्वार्थमा लम्पटतत्वहरु सजायको भागी हुनैपर्दछ । आपराधिक घटनालाई राजनीतिक जामा पहिर्याएर वा सत्ताप्राप्तिको भर्याङ बनाउन पाइँदैन । सरकारले छिटो भन्दा छिटो यसको जाँच अगाडी बढाउनु पर्दछ र माओवादीले पनि अपराधिहरुलाई सजाय दिन जोडतोडका साथ आफ्नो अभियान अगाडी बढाउनु पर्दछ र गौर हत्याकाण्डका अपराधीहरु दण्डित हुनैपर्दछ ।