उपसभामुखलाई हटाउन नदिने, प्रतिवाद गर्ने विपक्षी दलहरुको निष्कर्ष


काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तारुढ दलको तयारीको विपक्षी दलहरुले सशक्त प्रतिवाद गर्ने भएका छन् ।

मंगलबार अपरान्ह नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहरदबारमा बसेको विपक्षी दलहरुको बैठकले सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले कांग्रेस–एमालेले संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखलाई हटाउन खोजेको बताए ।

उनले बैठकले उपसभामुखलाई हटाउन नदिने निर्णय गरेको जानकारी दिए । उनले ‘हामी उपसभामुखलाई हटाउन दिँदैनौँ, प्रतिवाद गर्ने निर्णय भएको छ ।’

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख रानाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन सुरु गरेपछि विपक्षी दल छलफलमा जुटेका हुन् । बैठकमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा र आजपाको उपस्थिति रहेको थियो ।