नेपाल रुबेला रोग मुक्त देश घोषणा


काठमाडौं । नेपाल रुबेला रोग मुक्त देश भएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालमा विगत तीन वर्षभन्दा बढी समयदेखि रुबेला भाइरसको संक्रमण सफलतापूर्वक निवारण भएको तथ्यलाई आधिकारिक रूपमा प्रमाणित गरेको छ ।

यो ऐतिहासिक उपलब्धि नेपाल सरकारको दृढ इच्छाशक्ति, अहोरात्र खटिने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक परिश्रम, सचेत नागरिक समाजको सक्रिय सहभागिता र हाम्रा विकास साझेदारहरूको निरन्तर सहयोग तथा समन्वयबाट सम्भव भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस उपलब्धिलाई दिगो बनाउन र भविष्यमा यस्ता रोगहरूबाट हाम्रा नागरिक र विशेषगरी बालबालिकालाई पूर्ण रूपमा सुरक्षित राख्न प्रतिवद्ध रहेको जनाएको छ ।

यसका लागि मन्त्रालयले निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग–निगरानी प्रणालीको सुदृढीकरण तथा निवारण पश्चातको कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ ।