नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित


काठमाडौं । अष्ट्रेलियामा जारी टप इण्ड टी–२० शृङ्खलाको तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । सोमबार मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले सात विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो ।

नेपालका आशिफ शेखले ५३ रनसहित अर्धशतक बनाए । यस्तै कप्तान रोहितकुमार पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन बनाए । मेलबर्नका डग वारेन र अस्टिन एन्लेजाकले समान दुई तथा आर्यन शर्मा र क्रिस होवे समान एक विकेट लिए । त्यसअघि डार्बिनमा टस जितेर ब्याटिङ गरेको मेलबर्नले सात विकेट गुमाएर १७५ रन बनायो ।

मेलबर्नका ब्लेक म्याकडोनाल्डले ७४ रन र थोमस रोजर्सले ६५ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र शाहब आलमले समान एक विकेट लिए । योसँगै प्रतियोगितामा नेपाल लगातार तेश्रो पटक पराजित भएको छ । नेपाल आफ्नो दोस्रो खेलमा अस्ति बङ्गलादेश ‘ए’सँग २९ रनले पराजित भएको थियो ।

पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भएको थियो । नेपालले अब भोलि होबर्ट हुरिकेन्ससँग, र भदौ ४ गते मेलबर्न रेनेगेड्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ ।