‘खेलकुदको विकासमा राज्यले लगानी बढाउनु आवश्यक छ’


भक्तपुर । नेपाली कांग्रेसका नेता नेता मोहनबहादुर बस्नेतले राज्यले खेलकुदको विकासमा लगानी बढाउनुपर्ने बताएका छन् ।

आइतबार मध्यपुरथिमिमा आयोजित नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, बाग्मती प्रदेशको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा उनले खेलकुदको विकासले राज्यको नाम उच्च राख्न सघाउ पुग्ने बताए ।

नेता बस्नेतले खेलकुदको विकासले राज्यको समग्र विकासमा टेवा पुग्ने भन्दै खेलकुदको विकासका लागि तीन तहकै सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

कांग्रेस खेलकुद विभागका प्रमुख उमेशजङ्ग रायमाझीले खेलकुद र खेलाडीको विकासमा सबै गम्भीर बन्नुपर्नेमा जोड दिए । कार्यक्रमका सभापति एवं सङ्घका अध्यक्ष अष्ट कवेँले खेलकुद क्षेत्रमा मात्रै धनी, गरिब र बिनाभेदभाव सबै अट्ने भएकाले यसको विकासमार्फत सबैको समान सहभागिता सुनिश्चित गर्न सकिने बताए ।

कार्यक्रममा हालै अजरबैजानको बाकु सहरमा सम्पन्न अन्तरराष्ट्रिय  बुदो मार्सल आट्र्स प्रतियोगितामा ‘गोल्ड मेडल’ प्राप्त गर्ने खेलाडी तथा ‘रेफ्री’लाई नगदसहित सम्मान गरिएको थियो ।

सङ्घको अध्यक्षमा पुनः कवेँ 

अधिवेशनबाट अध्यक्ष पदमा कवेँलाई पुन सर्वसम्मत चयन गरिएको छ । अधिवेशनले सङ्घको उपाध्यक्षमा तेज डङ्गोल, सचिवमा उज्ज्वल श्रेष्ठसहित ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।