-मनिष झा ।
आज कृष्ण जन्माष्टमीको दिन, राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि बिहान सबेरै भैरहवा पुगे र जानकारी पाए कि पार्टी सभापतिज्यूलाई काठमाडौँ उपत्यकास्थित नख्खु कारागार स्थानान्तरण गरिँदैछ । प्रशिक्षणमा मेरो जिम्मेवारीको सत्र सकाए । हतारिएर, अनिश्चितताको सास फेर्दै प्रहरी प्रशासनलाई आग्रह गरें, एकछिन भेट्न पाइन्छ कि भनेर भैरहवा कारागारमै पुगेँ । साथमा पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले पनि हुनुहुन्थ्यो । कारागार प्रशासकले आज भेट्न मिल्दैन भनेर फर्काइदियो ।
विमानस्थलमा एकछिन भेट्न दिन विमानस्थलस्थित प्रहरी प्रशासनलाई अनुरोध गर्न पुग्यौं । निक्कै अनुरोध गरे पश्चात् म र पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले लाई विमानस्थल प्रतीक्षालयमा उभिएरै दुई मिनेट भेट्न दिनुभयो । सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको कारागार स्थानान्तरण कुनै त्रास थपेको छैन कुनै डर छैन केही भए छैन ।
मैले सोधें,
कति दिन भैरहवा बस्नु भयो ? उ हाँले भन्नु भयो १२६ दिन।
काठमाडौँ जानु हुदैछ, के सोच्दै हुनुहुन्छ ?
उहाँले भन्नुभयो, ‘पूरै नेपाल मेरो घर हो । सबै नेपाली आफन्त हुन, सबै सँगै माया छ, सद्भाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ।’ ‘भैरहवाको हावापानी, यहाँको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबै प्रति कृतज्ञ छु। मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासन लगायत सबैप्रति आभारी छु।’
‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो। जसरी सक्छन् जता सक्छन् लग्न देऊ। केही फरक पर्दैन।’ ‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब यहाँ कृष्णहरू जन्मिने छैन। तर जन्मेकाहरूले नै कृष्ण झैँ बन्नुपर्नेछ।’ ‘४६३ दिन पहिले एक जनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागें उसले बल देखायो । मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साँध्यो।’
‘तर पनि म भयभित छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे।’ सुरक्षाकर्मीले हामीलाई छुट्टिन अनुरोध गर्यो । ‘अब काठमाडौँमा भेटौला है’ भनेर भैरहवाबाट काठमाडौँको लागि उडेको युए ८६० बुद्ध एयरलाई टाढैबाट राम्ररी पुग्नु है भनेर छुट्टियौँ।

प्रतिक्रिया