काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सीट संख्या बढाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्ष्तामा बसेको चिकित्सा शिक्षा आयोगको २१औैँ बैठकले सिट निर्धारण समितिको सिफारिस बमोजिम यस्तो निर्णय गरेको हो ।
गत असार ३२ गते भएको आयोगको २०औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गर्न प्रक्रिया अघि बढाएको थियो ।
बैठकले हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङलाई बढाएर एक सय ३० सम्म र ५० सिट रहेको बिडिएसलाई ६० दिने निर्णय गरेको छ ।
त्यस्तै, मेडिकल कलेजहरुको पूर्वधार, फ्याकल्टी लगायतका मापदण्डहरु हेरेर एमबीबीएसमा बढीमा एक सय ३० र बीडीएसमा ६० सिटसम्म दिने निर्णय भएको छ । सबैभन्दा बढी १३० सिट पाउने मेडिकल कलेजहरुमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस रहेका छन्। पोखराको मणिपालले १२० सिट पाएको छ ।
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले मेडिकल कलेजको सिट र शुल्क नबढाउन चेतावनी दिँदै आइरहेका छन् । उनले निर्णय फिर्ता नलिए सत्याग्रह सुरु गर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया