काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा काठमाडौँ जिल्लामा २ हजार ७०० भन्दा बढी आगलागीका घटना भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँमा गत आर्थिक वर्ष २०८१/८२ मा कुल दुई हजार ७२२ वटा आगलागीका घटना दर्ता भएका छन्।
त्यसमध्ये सबैभन्दा बढी बिजुलीको पोल र ट्रान्सफर्मर तथा घर/कोठा र मिटरबक्समा विद्युत् ‘सट’, भएर आगलागी भएका छन्। एक वर्षको अवधिमा बिजुलीका पोल र ट्रान्सफर्मर आगलागीका एक हजार ८७६ र घरमा ४०७ वटा आगलागी भएको काठमाडौँ परिसरले जनाएको छ।
यस्तै ग्यास चुहावट भएर ४५, वन जंगलमा ६८ र अन्य कारणबाट ३२६ वटा आगजनीको घटना भएको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। आगलागीको जानकारी पाउनासाथ तत्काल अन्य निकायसँग समन्वय गरेर प्रतिकार्यमा प्रहरी जनशक्ति खटिइएको उनको भनाइ छ।
‘प्रहरी कन्ट्रोल रुम’मा अपराधसम्बन्धी सूचना प्राप्त हुने बित्तिकै परिसर मातहतका युनिटबाट सम्बन्धित स्थानमा परिचालित हुने व्यवस्था मिलाइएको प्रमुख अधिकारीले बताए। पछिल्लो एक वर्षमा ४२ प्रतिशत घटनामा प्रहरी पाँच मिनेटभन्दा कम समयमा सम्बन्धित स्थानमा पुगेको उनले जानकारी दिए।
यस्तै २४ प्रतिशत घटनामा १० मिनेट, २१ प्रतिशत घटनामा १५ मिनेट, नौ प्रतिशत घटनामा २० मिनेट, दुई प्रतिशत घटनामा २५ मिनेट, एक प्रतिशत घटनामा ३० मिनेटभित्र प्रहरी सम्बन्धित स्थलमा पुगेर शान्ति सुरक्षालाई सुव्यवस्थित बनाउने गरेको कार्यालयले जनाएको छ। केही घटनामा भने ३० मिनेटभन्दा बढी समय लागेको तथ्यांकमा उल्लेख छ।
उनले काठमाडौं जिल्लाको लागि नेपाल प्रहरीको कूल दरबन्दी संख्या ४ हजार १६ भएपनि ३२ सय ३३ प्रहरी जनशक्ति आजको दिनमा कार्यरत रहेको भन्दै यसरी हेर्दा ८ सय १५ जना दरबन्दी भएका व्यक्तिहरुको कमी रहेको बताए ।
उनले भने, ‘जनशक्ति तर्फ हेर्ने हो भने काठमाडौं जिल्लाको लागि नेपाल प्रहरीको कूल दरबन्दी संख्या ४ हजार १६ हो र ४ हजार १६ मध्य, ३२ सय ३३ प्रहरी जनशक्ति आजको दिनमा कार्यरत छौ । यसरी हेर्दा ८ सय १५ जना दरबन्दी भएका व्यक्तिहरुको कमी छ । यसमा महिला र पुरुषको अनुपात हेर्ने हो भने ४ सय ९ जना महिला प्रहरी कर्मचारीहरु छन् जुन कुल संख्याको १३ प्रतिशत हो । यसमा दरबन्दी र कार्यरत संख्या हेर्ने हो भने जुनियर अफिसर र जवान फिल्डमा काम गर्ने जनशक्ति हो । दरबन्दीको तुलनामा कार्यरत संख्या क्रमशः हेर्ने हो भने घट्दै गईरहेको अवस्था छ । प्रहरी जवान १६ सय ३० जनाको दरबन्दी हो भने अहिले कार्यरत ११ सय २० जना मात्र छन् । फिल्डमा काम गर्नको लागि हाम्रो जनशक्ति कम नै रहेको छ ।’
ट्राफिक जाम, घटनास्थलको पहिचान, सूचनाको विश्लेषण र प्राथमिकीकरणका कारण केही स्थानमा पुग्नका लागि समय लागेको जानकारी दिँदै जतिसक्दो चाँडो घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले विभिन्न उपाय अवलम्बन गरिरहेको प्रमुख अधिकारीको भनाइ छ।
प्रहरी हटलाइन, एसएमएस, सिसिटिभी, सामाजिक सञ्जाल, प्रहरी मोबाइल एप, रेडियो सेट, कार्यालय तथा व्यक्तिगत फोन सम्पर्क तथा व्यक्ति स्वयं उपस्थित भई प्रहरीमा सूचना आउने गरेको छ। गत वर्ष मात्रै काठमाडौँ प्रहरीमा चार लाख २८ हजारभन्दा बढी अपराधका सूचना प्राप्त भएको थियो।
प्रहरी तथ्यांकले धर्ना, विरोध र्याली, अनसन र तालाबन्दीलगायत सुरक्षा चुनौतीका घटना काठमाडौँमा भएको देखाउँछ। गत वर्ष नेपालभर भएका धर्नामध्ये काठमाडौँमा ४२ दशमलव ७३ प्रतिशत र विरोध र्याली २१ दशमलव ६१ प्रतिशत तथा उपत्यकाभित्र काठमाडौँमा मात्रै ८१ दशमलव ६८ प्रतिशत धर्ना र ७४ दशमलव शून्य छ प्रतिशत विरोध र्याली भएका छन्। त्यस्ता धर्ना, विरोध प्रदर्शन, विरोध र्याली, तालाबन्दीलगायत घटना नियन्त्रणमा लिन तीन लाख ८६ हजार ९४० प्रहरी जनशक्ति परिचालित गर्नुपरेको परिसरले जनाएको छ।
गत वर्ष काठमाडौँमा शिक्षक, सहकारी, स्वर्गद्वारी, पूर्वराजा समर्थित विरोध, समाजवादी मोर्चा र व्यवस्था विरोधी राजनीतिक दल तथा समूहको विरोध प्रदर्शनलगायतका घटना भएका थिए।

प्रतिक्रिया