झुम्का कारागारबाट बलात्कार मुद्दाका एक कैदी फरार


विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी फरार भएका छन् । बलात्कार मुद्दाका कैदी रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । उनी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका हुन् ।

जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । कारागारको पर्खाल नाघेर उनी फरार भएका हुन् । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

उनी २०८१ साउन २१ गतेदेखि कारागारमा थिए । घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।