निर्णयप्रति प्रतिकृया दिनै नपाइने पार्टी हो एमाले ?


-सुवोधराज प्याकुरेल

एकाबिहानै अर्का वादशाहका बंदरको कुरा सुन्नुर्योः (साउन,२४।०८२, ऋषि तर्पणी)।

एमालेको निर्वाचन आयोगको सदस्य भनेर कान्तिपुर हेडलाइनर्समा आएकाले भने, केन्द्रीय कमिटीले निर्णय गरिसकेको विषयमा पार्टी आवद्ध संगठनले बोल्न मिल्दैन। वौद्धिक परिषदले महाधिवेशनमा छलफलमा जानसक्ने बिषयमा लोक आवाज माग्दै गरेको प्रश्नावली प्रति उनको यो अभिव्यक्ति थियो ।

विचराले अहिलेसम्म खण्डन सुधार नगरिएको, श्रद्धेय सम्माननीय निर्विकल्प अध्यक्षले लेख्नुभएको पार्टीको लोकतान्त्रिकरण विषयक पुस्तक पढनु भएको रहेनछ । अथवा अति–भक्तिले मात्र सरोवर भइसक्नुभएको रहेछ । अब लेनिनदेखि माओसम्मका पार्टी र जनसंगठनबीचको सम्बन्ध अन्तरविरोध र समन्वयको चर्चा त बेकारको कुरा भयो ।

सामान्य मानिसलाई पनि थाहा हुन्छ कि महाधिवेशनको मातहत संगठनका सबै अङ्ग र पदाधिकारी रहन्छन् । संगठन जनताको हो भने, मैले बहस नखोलुन्जेल मेरा बारेमा खबरदार बोल्लास् भन्न पाइन्न । केन्द्रीय कमिटीले निर्णय गरिसकेको बिषयमा चर्चा गर्न नपाइने स्तरको टिठ लाग्दा ज्ञानीले भरिभराउ भएपछि त्यस्ता केन्द्रीय आयोग प्रतिको आमधारणा कस्तो बन्ला ? निर्णयप्रति प्रतिकृया दिनै नपाइने पार्टी हो एमाले ?

शब्द नै भारिभरकम दिइएको छ संगठनलाई । पहिले बुद्धिजीवी परिषद् भनिन्थ्यो। अर्थात् बुद्धिजीवीहरुको परिषद् । पछि बनाइयो बौद्धिक परिषद । अर्थात् बौद्धिक छलफल संश्लेषण गर्ने परिषद । वहुलवाद अङ्गिकार गर्ने पार्टीले सार्वजनिक वा निकायगत छलफल र निष्कर्षलाई आफ्नो बिचार औचित्य र व्यवहारको आधारमा चित्त बुझ्नेगरी जवाफ दिन सक्नुपर्छ । त्यही चुनौतीको विजय स्वरुप जनताको बहुदलीय जनवादको सिद्धान्त बनेको हो जसको कार्यनीतिका लेखकको नाम केपी शर्मा ओली हो ।

हरेक जनसंगठनहरु आ–आफ्नो क्षेत्र र बिषयमा केन्द्रित हुन्छन् । आफ्नो वर्गीय हीत सामुदायिक हीत र सांगठनिक हीतमा केन्द्रित हुन्छन् र तत् क्षेत्रमा स्वायत्त पनि हुन्छन् । सिद्धान्त र नीतिसँग बेमेल नराखुन्जेल उनीहरुको स्वायत्ततामा दखल दिन पाइन्न । सिक्नुस, यो पनि ओली लिखित पुस्तकबाट ।

कति निरंकुश ! कति दम्भ ! अनेक उदाहरण, निर्वाचन आयोगले स्व–नियमन भन्नासाथ, पार्टीहरु संविधानबाट मात्र निर्देशित हुने अरे । जनतालाई कानून माथि कानून । त्यतिले नपुगेर नियमावली, विनियमावली, कार्यविधि, निर्देशन, निर्णय, हुकुम,हैकम, आयोग, प्राधिकरण । के के हो के के । पार्टीहरुलाई संविधानमात्र ।

वादशाहका बंदरको कथाः सुतेका वादशाहलाई पंखा झलिरहेको बाँदरलाई एउटा झिङ्गाले रिसाहा बनायो। झिङ्गा वादशाहको निधार नाक यत्रतत्र बस्न आउँथ्यो । धपायो, भुर्रर उड्थ्यो । फेरि आएर अनुहारमा बस्थ्यो । बाँदरले रीस थाम्न सकेन । म्यानबाट वादशाहको तरबार झिक्यो र भाँजेर बस्यो । झिङ्गा जसै वादशाहको नाकको टुप्पोमा बस्यो भक्त बाँदरले तरबार चलायो । झिङ्गो उड्यो । तर तरबारले वादशाहको नाकको टुप्पो ताछियो । वादशाह भए, नकटो ।

संदेशः नेतृत्वलाई बलियो बनाउने हो भने आलोचनात्मक चेत राख्नुहोस् । नेता व्यक्ति हो । नेतृत्व साझा ।
जननेता मदन भण्डारी भन्ने गर्नुहुन्थ्योः जो आलोचनाको घेरामा छैन उसले कहिल्यै उन्नति गर्न सक्दैन ।