भौगोलिक चुनौतीका कारण भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्न सम्भव छैनः पूर्वमन्त्री साउद


काठमाडौं । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले नेपालले उर्जा तथा जलस्रोतको विषयमा भारतसँग डिल गर्दा राष्ट्रिय हितलाई आधार बनाएर गर्नुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नीति संवाद कार्यक्रममा उनले जलस्रोतको कुरा गर्दै गर्दा राष्ट्रिय हितलाई आधार बनाउने कुरा बिर्सन नहुने बताए ।

उनले दुई देशको सम्बन्धलाई पारस्परिक लाभको आधारमा कसरी लैजान सकिन्छ भन्ने विषयमा ध्यान दिन जरुरी रहेको पनि बताए ।

उनले भने,‘दुई देशबीचको सम्बन्धको दृष्टिकोणले हेर्दा एउटा विश्वास कायम गर्ने कुरा त छँदै छ, त्यो ठिकै छ । तर जलस्रोतको कुरा गर्दैगर्दा बिर्सन नहुने कुरा चाँही राष्ट्रिय हितलाई आधार बनाएर जानुपर्छ भन्ने हो । भारतले पनि राष्ट्रिय हितलाइ पहिलो बनाएर नेपालसँग डिल गर्ने हो । दुई देशको सम्बन्धलाई पारस्पारिक लाभको आधारमा कसरी लैजाने भन्ने विषयमा ध्यान दिनुपर्छ ।’

कार्यक्रममा कांग्रेस सांसद एनपी साउदले भारतको उर्जा मागलाई ध्यानमा राखी नेपालले विद्युत निर्यात रणनीति बनाउनुपर्ने बताए ।

उनले भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था नरहेको बताए । उनले भौगोलिक चुनौतीका कारण भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्न सम्भव नभएको प्रष्ट पारे ।उनले नेपालको जलस्रोतको अधिकतम मूल्य प्राप्तिका लागि अनुसन्धान र विश्लेषण अपरिहार्य भएको पनि बताए।

उनले भने, ‘भारतलाई बाईपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था पनि छैन। ट्रान्समिसन लाइन भएपनि भारतले नै दिनुपर्छ। त्यस्तो अवस्थामा भारतमा उर्जाको माग कस्तो भन्ने विषयमा एउटा उपयुक्त रणनीति बनाएर हामीले अगाडि बढ्नुपर्ने आवश्यकता छ।’

कार्यक्रममा रास्वपाका उपाध्यक्ष डीपी अर्यालले नेपाल जलस्रोतको धनी देश भनेर भाषण गरेपनि तराईमा पानी र सिँचाईको अभाव हुनु दुःखद भएको बताए । यस्तो अवस्थाको अन्त्य गर्न संवाद कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।

उनले भने,‘भाषणमा भन्ने गर्छौ सबैथोक हामीसँग छ । जलस्रोतको धनी देश भन्छौं । तर बर्खा लाग्नेबेला तराईमा पानी र सिँचाईको अभाव हुन्छ । यस्तो अवस्थाको अन्त्य गर्न पनि यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने विश्वास छ ।’