मातृभूमिमा पितृसत्ताको प्रश्न


-डा. गोविन्द एस. उपाध्याय

भारतको मणिपुर, मेघालय, मिजोरम, अरुणाचल तथा मेघालयमा खासी, गाह्रो, जयंत्याजस्ता आदिवासी समुदायहरू छन् जहाँ महिलाहरूले विवाह गरेर पुरुषहरूलाई घर भिधनउने गर्छन् । सन् १९४७ पछि यी क्षेत्रहरूमा व्यापक इसाईकरण भयो । बाइबलले महिलालाई ‘पुरुषले प्रयोग गर्ने वस्तु’ ठान्छ र जिससले प्रष्ट रूपमा पुरुषहरूका वरावरी गर्न महिलाहरूलाई रोक लगाएका छन् । इसाईकरणसंगै यी क्षेत्रहरूमा महिलाले आफ्नो परम्परागत अधिकार गुमाउंदै आजको मितिमा पुरुषहरूको ‘सेवा’ गर्न बाध्य पारिएका छन् ।

सन् २०१९ मा मैले खासी समुदायबाट दर्शनशास्त्रमा प्रोफेसर बनेका माओले बताएअनुसार उपर्युक्त समुदायमा कान्छी छोरीलाई मात्र सम्पतिको अधिकार हुन्छ । कान्छीछोरीलाई मन परे अन्य दिदीबहिनीले अंश पाउँछन् । पुरुषहरूलाई सम्पत्तिमा कुनै अधिकार हुँदैन । सन् १९४७ भन्दा पहिला यी क्षेत्रहरूमा रानीको अधिकार चल्थ्यो । माओले बताएअनुसार इसाई बने पनि केही समुदायमा सांस्कृतिक रुपमा ‘महिला–प्रधान’ रितिरिवाज चलिरहेको छ तर इसाईकरणले निकै कमजोर भएको छ ।

प्रो. माओले आफ्नो सम्पूर्ण तलव पत्नीलाई बुझाउनु पर्छ । सांस्कृतिक रूपमा उनी घरमूली होइनन् । घर, परिवार, सामाजिक निर्णयहरू लिने अधिकार महिलामा निहित हुन्छ । पत्नीको नाममा समाजले उनलाई चिन्छ अर्थात् फलानीको लोग्ने ! महिलाको अनुमति विना कुनै पनि काम सम्भव छैन । सबैभन्दा रोचक कुरा त के भने उपर्युक्त समुदायहरूमा पुरुषको गोत्र वा थर हुँदैन, महिला प्रधान समाज भएको कारण महिलाको गोत्र–थर नै सबैको थर हुन्छ । माओका अनुसार सन् १९४७ सम्म सबैले हिन्दू धर्म मान्थे तर आजको मितिमा धेरै इसाई भैसकेका छन् तर जुन हिन्दू छन्, तिनले आफ्नो मौलिक परम्पराअनुसार नै परिवार चलाइरहेका छन् ।

हिन्दू समुदायमा जीवित रहेको उपर्युक्त परम्पराले हिन्दुहरूमा महिला विरोधी रितिरिवाज बलियो छ र हिन्दू समाज पितृसत्तात्मक छ भन्ने आरोपलाई अस्वीकृत गर्छ । हिन्दुहरूलाई मातृसत्तात्मक समाज भए पनि कुनै असजिलो हुँदैन र पितृसत्तात्मक हुँदा पनि स्वीकार्य छ भन्ने प्रमाण उपर्युक्त जनजातिआदिवासीको चलनले प्रष्ट पार्छ । (केही सीमित रूपमा उपर्युक्त चलन मैले सुनेअनुसार नेपालको डोल्पो, मुस्तांगमा छ रे !)

पितृसत्तात्मक शब्द र सोच दूवै युरोपेलीहरूले खोजेका र स्थापित गरेका शब्द हुन् । अब्राह्मिक रिलिजनले महिलाहरूप्रति गर्ने भेदभावले आक्रान्त भएर युरोपेली महिलाहरूले पितृसत्तात्मक संरचना विरुद्ध विद्रोह गरेका हुन् र तेहाका लागि त्यो उचित नै ठहरिन्छ । नेपाली र भारतीय समाजमा ‘पितृसत्तात्मक’ शब्दको उपयोग कम्युनिस्टहरूको प्रवेशसंगै भएको हो भन्न मिल्छ । निश्चय नै सैद्धान्तिक रूपमा नेपाली समाज ‘पितृसत्तात्मक’ नभए पनि व्याबहारिक रूपमा विद्यमान छ । महिलाहरू पुरुषहरूको तुलनामा विभेदमा परेका छन् तर इसाईहरूका विरुद्ध युरोपेली महिलाहरूले आरम्भ गरेको आन्दोलनलाई (जहाँ देशलाई फादरल्याण्ड भन्ने गरिन्छ) मातृभूमि (वैदिक, जैन, बौद्ध र चिनिया परम्परामा जन्मभूमिलाई मातृभूमि भनिन्छ) पुरुषहरूलाई गालीगलौज गर्नेहरूले इतिहास पढ्नुपर्छ ।

हिन्दू समाजमा महिलाप्रति विभेद छैन भन्नु अनुचित हुन्छ तर युरोप र अमेरिकाको इतिहासमा तेहाका पुरुषहरूले महिलाप्रति गरेको चरमविभेदलाई नेपाली समाजमा बुझ्नु मूर्खता र विदेशीहरूको सिखो बाहेक केही होइन । बरू नेपाली समाजमा प्रचलित मातृभूमि, मातृकुल प्रधान चालचलनहरू, महिला गुरूहरू बन्ने चलनहरू र महिलालाई पहिलो मान्यता दिने प्रचलन “सीताराम, लक्ष्मीनारायण, राधाकृष्ण’लाई महिलाहरूको बर्चश्व र अधिकार स्थापित गर्ने दिशामा प्रयोग गर्नुपर्छ । सेमेटिक रिलिजनहरूमा ‘महिला गुरू’ वा महिला ‘देवी’ हुने कुराको कल्पनासम्म गरिन्न । आजको मितिमा कुनै पनि महिला मुल्ला, मौलवी, फादर वा पास्चर छैनन् । यही आँखाले नेपाली समाजलाई ‘पितृसत्तात्मक’ भनेर गालीगलौज गर्दैमा महिलाहरू अधिकार सम्पन्न हुँदैनन् । एउटा अतिवादबाट अर्कोअतिवादतिर लैजाने सिद्धान्त र क्रियाकलापहरूलाई बेलैमा मन्थर पार्नुपर्छ ।

पितृसत्तात्मक शब्दको कल्पना फादरल्याण्डका विरुद्ध विकसित भएको हो यसको नेपाली समाजसंग कुनै साइनो छैन । नेपाल आमा पनि भन्ने र पितृसत्तात्मक व्यबस्था विरुद्ध लड्छु भन्नु निकै विरोधाभाषी छ । पुरुष होस् वा महिला दूवैले उपर्युक्त शब्दसंग ‘प्रगतिशीलता, आधुनिकता र विकास’लाई जोड्नुको अर्थ छैन । महिलाको उत्थानका लागि आवश्यक सुविधाहरू प्राप्त गर्नु उनीहरूको मौलिक अधिकार हो तर पुरुषहरूलाई घारेहात लगाएर, पुरुषहरूसंग शत्रुतापूर्ण व्यबहार गरेर, पुरुषहरूलाई गालीगलौज गरेर प्राप्त हुने भनिएको ‘अधिकार’ तासको घरझैँ हुन्छ । शिक्षा, स्वास्थ्य, स्रोतसाधन र काममा पहुँच मुख्य कुरो हो । महिलाहरूले अहिले पुरुषले ओगटीरहेको ठाउँ ओगट्न सफल हुनुभनेको अधिकार प्राप्त होइन अपितु अर्को शोषणको आरम्भ हो ।

अधिकार र कर्तव्य, राम्रो र नराम्रो, उचित वा अनुचित नीतिशास्त्रका विषय हुन् । नीतिशास्त्रका विषयहरू स्थानीय समाजले तय गर्छ । राष्ट्रले त्यसको प्रतिनिधित्व गर्छ । व्यक्तिले कर्तव्य ठानेर उत्तरदायित्व लिन्छ । एकातिर पितृसत्तात्मक पक्षको कठोर आलोचना गर्ने अर्कोतिर महिलालाई विज्ञापनका माध्यमबाट उपभोग्य सामग्री (Commodity) का रूपमा स्थापित गर्न खोज्नुको अर्थ छैन । कुनै पनि महिला अधिकारवादीहरूले एउटा फलामको कारसंग किन अर्धनग्न महिलाको फोटो छापिन्छ, किन हरेक रक्सीका विज्ञापनहरूमा महिलाको शरीर प्रयोग हुन्छ, किन प्रत्येक कण्डमका डब्बाहरूमा पुरुषको नभएर महिलाको फोटो हुन्छ ? जवाफ खोज्ने प्रयत्न गर्नुपर्छ । निश्चयनै, प्रत्येक महिलाले महिला भएकै नाममा असमानता खेप्नु दुर्भाग्यपूर्ण हो तर विवाहित पुरुषसंग दोस्रो विवाह गर्ने विषयमा पुरुषलाई मात्र दोष दिनु सही होइन । पुरुषले फकाउँदैमा फकिनुमा महिला पनि दोषी हुन्छन् ।

विज्ञानको विकाससंगै धेरै परम्परागत मान्यताहरू बदलिएका छन् । सोच र चालचलन, आवश्यकता र परिवेश बदलिएको छ । तर वैदिक हिन्दु समाज होस् वा जैन वा बौद्ध समाज जसरी प्राचीनकालदेखि नै महिलाहरूलाई देवी, गुरू मानेर पूज्ने र आदर गर्ने परम्परा चलिरहेको छ, त्यसैले आजको समाजमा पनि हिन्दुहरूमा महिलाहरू गुरूका रूपमा, जैनहरूमा साध्विका रूपमा र बौद्धहरूमा आनीका रूपमा जीवन्त छन् । पितृसत्तात्मक शब्दलाई ‘मुक्ति’ ठान्ने चिन्तनसंग रुल्मुलिएकाहरूले ‘महिलाहरूलाई देवी मानेर पूजा गर्यो भने महिलालाई देवीका रूपमा पुज्नु भन्दा अधिकार देऊ’ भन्दै विरोध गरिन्छ – बिडम्बना यहीं छ । त्यसैले आफ्नो मौलिक संस्कृतिको सम्मान गर्दै महिलाहरूलाई सुशिक्षित गर्न, सामान अधिकार प्राप्त गर्न, अवसरहरू सुनिश्चित गर्न र सम्मान सृजना गर्न काम गर्नुपर्छ । पुरुषहरूको आलोचना गरेर, पुरुषहरूलाई गालीगलौज गरेर “अधिकार प्राप्त हुन्छ“ भन्नु दिवास्वप्न सरह हुने छ ।

पितृसत्तात्मक नेपाली समाजका कारण महिलाहरू पछाडी परेका हुन् भने उप्रान्त महिला अधिकार कर्मीहरूले खासी, गाह्रो, जयंत्या आदिवासीहरूले परम्परागत रूपमा अभ्यास गर्दै आइरहेको ‘मातृप्रधान सत्ता’को अभ्यास गरौँ । के खागजको स्वदेशी मातृसत्तात्मक समाजको अभ्यास गर्न ‘महिला अधिकारवादी’हरू तयार छन् ? अथवा “खागज“ पनि वैदिक हिन्दू समाजको प्राचीन अभ्यास भएकोले अस्वीकार्य ठहरिने छ ? अथवा नारीअधिकारवादीहरूका लागि केवल विदेशी अधिकारवाद मात्र स्वीकार्य हुने हो ? उत्तर प्राप्त गर्न सम्भव छैन । अधिकारवादी आन्दोलनले महिलालाई धेरै सचेत बनाएको तत्थ्य स्वागतयोग्य छ तर पितृसत्तात्मक सत्ताको विरोधका नाममा “मातृभूमि“मा विश्वास गर्ने र अभ्यास गर्ने वैदिक, जैन र बौद्ध समुदायप्रति अभद्र टिप्पणी गर्ने कुरा स्वागतयोग्य छैन ।