-जनकराज पाठक ।
पूर्वनवयुवराज हृदयेन्द्र शाहाले देशको विभिन्न स्थानहरूको भ्रमण गर्नु नौलो विषय होइन तर नेपालीको एक ऐतिहासिक, सांस्कृतिक र भौगोलिक दृष्टिले महत्वपूर्ण र भौतिक पूर्वाधारका हिसावले पछाडि परेको जुम्ला भ्रमण चाहिँ विशेष चासो बन्यो । हृदयेन्द्रको भ्रमणले त्यहाँको जनताको मनोबल उच्च बनायो । हृदयेन्द्रले जनताको समस्या सुने, स्थानीय संस्कृतिको अनुभव गरे, विभिन्न धार्मिक स्थलहरुको भ्रमण समेत गरे । उनी हालका नवधनाढ्य नेताहरु झैं मुड फ्रेस गर्न वा रिल्याक्स गर्न त्यहाँ पुगेका थिएनन् । त्यहाँ पुगेर उनले जनताको भावना, स्थानीय संस्कृतिको सम्मान र दूरदराजका जिल्लाको विकासप्रति चासो प्रकट गरेका थिए ।
आफ्नो माताको साथमा गत जेठ महिनामा उनी त्यहाँ पुगेका थिए । त्यहाँ रहँदा उनको विभिन्न औपचारिक कार्यक्रमहरुमा सहभागी हुँदाको तस्बिरहरु पहिलेनै सार्वजनिक भएको थियो । उनले त्यही भ्रमणमा My Trip to Jumla शीर्षकको एउटा भ्लग समेत बनाएका रहेछन् जसलाई आफ्नो जन्मदिन पारेर साउन १४ मा सार्वजनिक गरेपछि यतिबेला वास्तवमै उनको नाम नलिने सायदै कोही नहोला । उनको भ्लगले नेपाली समाजनै यतिबेला तरंगित छ । उनको नम्रता,भद्रता, सालिनताले मानिसहरुलाई नतमस्तक बनाएको छ । उनको यो भ्लगले जुम्लालाई मात्रै संसारमा चिनाएन उनी स्वयम्लाई समेत नेपालीले चिन्ने, जान्ने र बुझ्ने अवसर पाए।
न कुनै घमण्ड, न कुनै उदण्ड, न कुनै चन्चलता एउटा परिपक्क जिम्मेवार सरल व्यक्तिको रुपमा उनको प्रस्तुतीलाई उनले जन्मदिन पारेर सार्वजनिक गरेसँगै उनी नेपालीको मन–मस्तिष्कमा बस्न सफल भएका छन् । उनको भ्लगमा पञ्चकलीसँगको रोचक वार्ता पञ्चकलीले दर्शाएको माटोप्रतिको माया, जुम्लाको सौन्दर्य, इतिहास अनि जुम्लाको स्वाद छ । दरवारभित्र दरवारिया रहनसहनमा हुर्किएका उनले यसरी भुइँमान्छेसँग बिताएको क्षणको चित्रणलाई सबैले नियाल्नु स्वभाविक नै हो ।
पछिल्लो राजनीतिक परिवर्तनताका सबैभन्दा बढी प्रचार भएको ‘बेबी किङ’भन्ने शब्द उनीप्रति नै लक्षित थियो । त्यसैको कारण उनी लोकप्रिय त छँदैथिए अहिले आफ्नो लोकप्रियतालाई थप उचाइमा पुर्याउन उनी सफल भएका छन् । लोकप्रियताकै कारण उनीप्रतिको सार्वजनिक चासो बढ्दो छ । सामाजिक कामहरुमा देखिएको उनको सक्रियता, सभ्य व्यवहारका कारण मानिसहरुले उनिप्रति असीम श्रद्धा र नेपालको भविष्यलाईसमेत जोडेर हेर्न थालेका छन् । विषेश गरी उनलाई भविष्यको शाही अनुहारको रुपमा नेपालीले हेर्न चाहेका छन् । जालझेल, छलकपड, धोखाधडी,चोरी ,ठगी,भ्रष्टाचारबाट ग्रसित समाजमा उनले आसाको किरण छरेका छन् भने संस्कार के हो ? भनेर समेत सिकाएका छन् । एउटा १५ मिनेटको भिडियोमार्फत उनले नेपालको माटो र आफूलाई एकैपटक जसरी चिनाए त्यसले उनमा विलक्षण क्षमता रहेको प्रष्ट पार्छ । उनले निरास समाजमा आशा र भरोसा जगाएका छन् र नेपालीले नबिर्सने गरि छाप छोड्न सफल भएका छन् ।

प्रतिक्रिया