हृदयेन्द्रको ‘जुम्ला भ्लग’ बारे एमाले नेतृ उषाकिरणः देशकाबारे चासो राख्न र बोल्न जुन वर्गको मान्छेले पनि पाउँछ कमरेडहरु !


काठमाडौं । पूर्वनवयुवराज हृदयेन्द्रको ‘जुम्ला भ्लग’ यतिबेला चर्चाको विषय बनेको छ । ‘जुम्ला भ्लग’लाई कसैले प्रशंसा गरेका छन् त कसैले आलोचनाको विषय पनि बनाएका छन् । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामाले ‘जुम्ला भ्लग’प्रति असन्तुष्टि जनाएकी छन् ।

जुम्लाको पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले बनाइएको शाहको ‘भ्लग’लाई लिएर लामाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी छन् । उनले दरबारमा भोटे कुकुरका छाउरा हुर्केझैँ ऐस आरामले हुर्केकाले जुम्लालाई चिनाउन आवश्यक नभएको भन्दै आक्रोश पोखेकी छिन् । उनले भनेकी छन्, ’राजतन्त्रमा सामन्ती राजाका धेरै पुस्ताले नेपाली जनतामाथि दोहान गरेको छ । अहिले उनका नातिले एउटा स्टन्टका लागि बनाएको एउटा भिडियोले मात्रै त्यो दोहन गरेको ऋण चुक्ता हुन सक्दैन । उनी जस्तो सयौं पुस्ताले देश र जनताको सेवा गरिहाले पनि राज्य र जनता माथि गरेको शोषण, दमन र अत्याचारको भार चुक्ता गर्न सक्दैन ।’

तर नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सेनाले जुम्ला भ्लगको आलोचना गर्न आवश्यक नभएको बताएकी छन् । उनले एउटा भ्लग बनाएका पूर्वराजपरिवारको सदस्यको जति अधिकार छ बोल्ने, लेख्ने र पढ्ने, त्यति नै अधिकार हामी सबैलाई भएको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘हाम्रो गणतन्त्रको सुन्दर पक्ष भनेको यसले सबैको स्वतन्त्रता र सार्वभौमिकताको ग्यारेण्टी गरेको छ । जो कोहीलाई धारेहात लगाउनु अगाडि तपाईंका महान कमरेडहरुलाई एकथान संविधान, एकथान पार्टी विधान दिनुस् र आफ्नै विगत नबिर्सन अनुरोध गर्नुस् । यो देशको कुनै वंशजको चिनारी नभएको युवाले यो राज्यमाथि प्रश्न गर्यो भने पनि म (हामी) जस्तै किन भैइनस् ? भनेर प्रश्न गर्ने बन्द मानसिकता त्याग्नुस् कमरेडहरु । एउटा भ्लग बनाएका पूर्वराजपरिवारको सदस्यको जति अधिकार छ बोल्ने, लेख्ने र पढ्ने, त्यति नै अधिकार हामी सबैलाई छ । रह्यो पुस्तौनी सम्पत्ति वा यो को कुरा, यो देशको कानुनले स्पष्ट बोलेको छ, देशकाबारे चासो राख्न र बोल्न जुन वर्गको मान्छेले पनि पाँउछ ।’