मार्सल आर्टसका अध्यक्ष खुला समर क्याम्प सहभागी हुन जर्मनी प्रस्थान


काठमाडौँ । अन्तर्राष्ट्रिय खुला समर क्याम्प २०२५ मा सहभागी हुन मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जन जर्मनी प्रस्थान गरेका छन् ।

कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले शुक्रबार आयोजित एक कार्यक्रममा उनको बिदाइ गरे । जर्मनी क्लबका अध्यक्ष हसन हेनले उक्त क्याम्पका लागि मार्सल आर्ट अर्गनाइजेसन नेपाललाई निमन्त्रणा दिएका थिए ।

नेपाललगायत स्पेन, पोल्याण्ड, स्वीडेन र जर्मनीका प्रशिक्षार्थीहरूको सहभागिता रहने समर क्याम्पमा मार्सल आर्टस्का तौरतरिकामात्र नभएर सहभागी देशको संस्कृतिसमेत एकापसमा साटिने र यी देशबीच भाइचारा तथा मित्रता बढ्ने कुरा प्रशिक्षक महर्जनले बताए ।

कीर्तिपुर नगरपालिका र जर्मनीको लुबिज नगरपालिकाबीचको सहकार्यमा नेपालबाट राजीव महर्जनले एक साता सञ्चालन हुने क्याम्पमा सहभागिता जनाउन लागेको बताइएको छ ।

आयोजक क्लबका प्रशिक्षक हसन हेनले विभिन्न समयमा नेपालमा आएर प्रशिक्षणसमेत दिएका छन् । दुई देशबीचको यो मार्सल आर्टका कलाकशौल प्रशिक्षण दिने कार्यले दुवै देशको मार्सल आर्टस्मा विकास हुँदै आइरहेको महर्जनले बताए ।