सङ्कटको कारक दल र समाधान दिने पनि दल नै हुन्


-केशवप्रसाद भट्टराई ।

१. एउटा सत्तारूढमा सी विचारधाराको प्रशिक्षण संचालन गराउने एक नेता र राष्ट्रप्रमुखबाट निवृत्त भएपछि चीन भ्रमणबाट फर्किएपछि अर्काले मच्चाइन लागिएको हुण्डरीले त्यो पार्टीको भविष्य कहाँ पुग्छ होला म बुझ्दिन । राष्ट्र प्रमुख भइसकेको व्यक्तिको हामी सर्वसाधारणको जस्तो व्यक्तिगत भन्ने कुरा हुन्न , व्यक्तिगत स्वतन्त्रता भन्ने हुन्न, तर त्यसलाई व्यक्तिगत स्वतन्त्रताको कुरा भनेर उनको पक्षमा वकालत गर्नेहरू पनि छन् । त्यसमाथि उक्त हुण्डरीमा प्रमुख विपक्षी दल र अन्य विपक्षमा रहेका दलहरूको सफा/फोहर स्वार्थ समेत जोडिएको प्रष्ट देखिएकै छ । अर्थात् ती दलले उक्त दलभित्र हुण्डरी मच्चाएर त्यसको सांगठानिक बल र एकतालाई ध्वस्त परेर आफ्नो राजनीतिक दलको सत्ता स्वार्थको रक्षागर्ने स्वार्थ बोकेका दलहरूका लागि उक्त घटना विकास एउटा रहरलाग्दो संभावना बोकेर आएको अनुभव गरेको प्रष्ट बुझिन्छ ।

२. अर्को सत्तारूढ दलको हकमा हेर्दा एउटा रेडियो अन्तर्वार्तामा देउवालाई हटाएर शेखर कोइरालालाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउन एक स्वतन्त्र मधेसी सांसदले काङ्ग्रेस सांसदहरुले हस्ताक्षर अभियान चलाएको बुझियो । उनका अनुसार देउवाविरूद्ध र शेखरको पक्षमा ४५ सांसद पुगिसकेका छन् ।

३. प्रमुख विपक्षी दलकै एक प्रमुख नेताले उक्त दलको मुख्य नेतृत्वलाई समेत परोक्षरूपमा आपराधिक चरित्रको चरम भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन् ।

४. हाल अदालतको विचाराधीन भएको उनी विरूद्धका आरोप सही सिद्ध होलान्/नहोलान् त्यो छोडौँ , तर कानुन वमोजिम नेपालको नागरिक नै नभएको अर्कै देशको नागरिकता र प्रमाणपत्र बोकेको मानिसलाई नेपालले उपप्रधान र गृहमन्त्री बनायो ।

५. गणतन्त्रवादी कम्युनिस्ट पार्टीको भोट बटुलेर संसदमा पुगेको र हानथाप गरेर गणतान्त्रिक सरकारमा उपप्रधान मन्त्री खाने नेताको नेतृत्वको राजा फर्काउने दावी गर्ने दलले राजा फर्काउने अभियानको नेतृत्वमा संलग्न व्यक्तिलाई पार्टीले निष्कासन गर्दछ । त्यसले उक्त दल भित्र पनि कचिङ्गल माथि कचिङ्गल छ । बाँकी अन्य दलहरूको स्थिति पनि खासै फरक छैन ।

६. के कस्तो सङ्कट हो स्पष्ट व्याख्या र परिभाषा छैन तर सवैले एक मुखले देश ठूलो सङ्कटमा भएको बताइरहेका छन् । बिडम्बना के हो भने सङ्कटको कारक उनीहरू नै हुन् र समाधान दिने पनि उनीहरू नै हुन् । उनीहरू बाहेकबाट समाधान दिने कुनै संस्था मुलुकमा छैन ।