काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको पहिलो बैठक आज पार्टीकाे केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । विभागका अध्यक्ष इ. श्रीराम न्यौपानेको अध्यक्षतामा बसेको बैठकले तीन प्रमुख प्रस्तावमाथि छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकमा विभागका सदस्यहरू इ. अम्बिकेश कुमार झा, सुमन कुमारी जोशी, इ. चोक प्रसाद धिताल र इ.डा. रामहरी पौड्यालको सहभागिता रहेको थियो भने ऊर्जा तथा जलस्रोत विज्ञ सल्लाहकारहरु इ. देवेन्द्र कार्की र इ. मधु प्रसाद भेटुवालकाे आमन्त्रित सहभागिका रुपमा उपस्थित रहेकाे थियाे ।
बैठकले यही श्रावण २३ गते शुक्रबार नेपाल पर्यटन बोर्डमा ‘नेपाल–भारत सम्बन्धमा नेपालको ऊर्जा तथा जलस्रोतको भूमिका’ विषयक नीति संवाद कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । ऊर्जा तथा जलस्रोत विभाग र पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा पार्टीका पदाधिकारीहरू, संघीय सांसदहरू, ऊर्जा तथा परराष्ट्र मामिलाका विज्ञहरू, सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
बैठकले नेपालको समृद्धिको मेरुदण्ड मानिने ऊर्जा तथा जलस्रोत क्षेत्रको अधिकतम उपयोगका लागि हालसम्म कार्यान्वयन योग्य एकिकृत नीति नरहेको प्रति गम्भीर ध्यानाकर्षण गर्दै ऊर्जा नीति कार्यदलले यसअघि तयार पारेको ऊर्जा नीतिलाई परिमार्जन गर्दै समग्र ऊर्जा तथा जलस्रोत नीति बनाउने निर्णय गरेकाे छ । आगामी १२ महिनाभित्र सरोकारवालासँग व्यापक संवाद तथा अन्तरक्रिया गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनासहित नीति तयार गर्नुका साथै १५ महिनाभित्र ऊर्जा तथा जलस्रोत क्षेत्रको मार्गचित्र तयार गर्ने लक्ष्य राखिएको बताएको छ ।
बैठकले नेपालको तराई क्षेत्रमा पर्याप्त जलस्रोत हुँदाहुँदै पनि वर्षायाममै सुख्खाग्रस्त क्षेत्र बन्न थालेको विषयमा चिन्ता व्यक्त गरेको छ । खानेपानी, सिचाईं तथा दैनिक उपभोग्य प्रयोजनमा पानीको चरम अभावका कारण स्थानीय जनजीवन प्रभावित भएको जनाउँदै विभागले आगामी शनिबार मधेश प्रदेशका सुख्खाग्रस्त क्षेत्रहरुको स्थलगत अध्ययन गर्ने निर्णय गरेको छ । सो अवसरमा प्रभावित समुदायसँग साक्षात्कार गरिने र विज्ञहरूसँग राय, सुझाव लिएर सरकारलाई कार्यान्वयन योग्य सुझाव पेश गर्ने बताएकाे छ । बैठकमा उठाइएका प्रस्ताव र निर्णयहरूले रास्वपाले ऊर्जा तथा जलस्रोतको क्षेत्रमा दीर्घकालीन रणनीतिमार्फत राष्ट्रिय हितमा कार्य गर्दै जाने स्पष्ट संकेत दिएको छ ।

प्रतिक्रिया