विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक वर्षमा सत्ता साझेदारीका बेला भएको सात बुँदे सहमतिको एउटा पनि बुँदा अगाडि बढ्न नसकेको बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले अहिले संविधान संशोधनको चर्चा हुन छाडेको बताए । उनले वर्तमान सरकार राम्रोसँग चल्न नसकेको तर सरकार ०८४ सम्म नै चलोस् भन्ने आफ्नो चाहना रहेको बताए ।
उनले सरकार परिवर्तन गर्नुको कारण जनतालाई पुष्टि गर्नुपर्ने पनि बताए । कोइरालाले पार्टीको संसदीय दलको नेता फेर्न आवश्यक संख्या नपुगेको भन्दै अहिले हतार गर्न नहुने बताए ।
कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको आफ्नो भेटलाई सामान्यरूपमा लिन आग्रह गरे । कोइरालाले पूर्वराष्ट्रपति भण्डारीलाई पुनः राजनीतिमा सक्रिय नहुन सुझाव दिए ।
उनले भने, ‘उहाँलाई फर्कन कसैले रोक्न सक्दैन । तर मलाई सोध्नुहुन्छ भने नफर्केको राम्रो ।’ कोइरालाले ‘कुलिङ अफ पिरयड’मा भएको बदमासीमा सरकार र उच्च प्रशासकको हात रहेको कुरामा शंका नरहेको बताए ।

प्रतिक्रिया