बागमती प्रदेश सरकारमा तीन मन्त्री नियुक्त


बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने श्रेष्ठ र गुरूङको मन्त्रालय तोकिएको छैन ।

यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठ र खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले राजीनामा दिएका थिए ।

उनीहरुले संसदीय दल नेताबाट लामालाई हटाउन हस्ताक्षर गरेका थिए । मंगलबार लामालाई संसदीय दलको नेताबाट हटाइएको छ । तर लामाले आफूले सरकार नछाड्ने बताउँदै आएका छन् । आज कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान हुँदैछ ।