बागमती प्रदेश सरकारका उर्जा मन्त्री खड्काद्वारा राजीनामा


बागमती । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले राजीनामा दिएका छन् । मंगलबार बिहान मन्त्री खड्काले मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन् ।

पत्रमा उनले विविध कारणले आफ्नो जिम्मेवारी निरन्तर बहन गर्नसक्ने अवस्था नरहेकोले आजकै मितिदेखि राजीनामा दिएको उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा उनले भनेका छन्, ’उपर्युक्त सम्बन्धमा म बागमती प्रदेश सरकार, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमा मन्त्रीको रुपमा पाएको जिम्मेवारीप्रति सदैव निष्ठावान रहेर कार्य सम्पादन गर्ने प्रयासमा रहें।यस प्रदेशको समृद्धि र जनताको सेवा मेरो पहिलो प्राथमिकता रहँदै आएको छ । विविध कारणले आफ्नो जिम्मेवारी निरन्तर बहन गर्नसक्ने अवस्था नरहेकोले आजकै मितिदेखि बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिएको छु । आजको मितिसम्म मन्त्रालयको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न दिनुभएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

मन्त्री खड्काले मुख्यमन्त्री लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । यसअघि ९ साउनमा प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका थिए । कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध दलको कार्यालयमा दर्ता अविश्वास प्रस्तावमा मत विभाजन गर्ने अन्तिम समयमा खड्काले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेता लामालाई हटाएर इन्द्र बानियाँलाई नेता चयनको तयारी भएको छ । जसका कारण कांग्रेसका सांसदले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन् । ११० सदस्यीय वागमती प्रदेशसभामा कांग्रेसका ३७ सदस्य रहेका छन् ।

अविश्वास प्रस्ताव दर्ताको समयमा २१ जना मध्ये १८ जना प्रदेशसभा सदस्यहरु सहभागी थिए । २१ जना प्रदेशसभा सदस्यहरूले दलको नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री लामाको पद धरापमा परेको छ । तर हस्ताक्षर गर्ने २१ मध्ये दुई प्रदेशसभा सदस्य (मीना पराजुली र माया श्रेष्ठ)ले मुख्यमन्त्री लामालाई नै समर्थन गर्ने बताइसकेका छन् । कांग्रेसका कारण बागमती प्रदेश सरकारमा किचलो बढेको छ ।