काठमाडौं । दशौं एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४)मा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली मंगलबार मलेसियाको सरावक जाने भएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
सदस्यसचिव घिसिङले नेपाली पारा तेक्वान्दो ‘ब्रान्ड’का रूपमा स्थापित भइसकेको भन्दै अन्तर्राष्ट्रिय मञ्चमा पारा तेक्वान्दोले हासिल गरेको उपलब्धिलाई यो टोलीले पनि निरन्तरता दिने विश्वास व्यक्त गरे ।
निर्देशक विष्टले पारा तेक्वान्दोमा एसिया बलियो क्षेत्र भएकाले यो प्रतियोगितामा पदक जित्न सके ओलम्पिकमा पदक जित्ने सम्भावना प्रबल हुने बताए । प्रतियोगिता आगामी अगस्त १ तारिखसम्म सञ्चालन हुनेछ । पुरुष ५८ केजीमुनि भरतसिंह महता, ६३ केजीमुनि अमिर भ्लोन तथा महिला ५७ केजीमुनि पलेशा गोबद्र्धन, ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गर्नेछन् ।



प्रतिक्रिया