गाजा सिटी । उत्तरी गाजामा संयुक्त राष्ट्रसंघको राहतको पर्खाइमा रहेका कम्तीमा ६७ प्यालेस्टिनी नागरिक इजरायली सेनाको हमलामा मारिएका छन् ।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले दिएको जानकारीअनुसार राहत बोकेको २५ वटा ट्रकको समूहले इजरायलको सीमा पार गरेलगत्तै तीव्र भोकमरीबाट पीडित हजारौं नागरिकको भिडको सामना गर्नु परेको थियो ।
भिडमा रहेका नागरिकहरूमा इजरायली सेनाले गोली चलाउँदा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको बताइएको छ । इजरायल डिफेन्स फोर्सले भने आफ्नो सुरक्षालाई खतरा पुगेपछि चेतावनी स्वरूप गोली प्रहार गरिएको दाबी गरेको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले भोकमरी चरम अवस्थामा पुगेको भन्दै सयौं नागरिकहरू कुपोषणका कारण मृत्यु नजिक पुगेको उल्लेख गरेको छ। । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र भोकमरीकै कारण १८ जनाले ज्यान गुमाएका छन् ।
गाजाको नागरिक सुरक्षा निकायले आइतबार दिनभरि इजरायली आक्रमणमा ९३ जनाको मृत्यु भएको पुष्टि गरेको छ। तीमध्ये ८० जना उत्तरी गाजामा, ९ जना राफाहस्थित राहत वितरण केन्द्र नजिक, र ४ जना खान युनिसमा मारिएका हुन् ।

प्रतिक्रिया