स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माणका लागि चीनलाई नेपालको आग्रह


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चीनका राजदूत छन सोङबीच भेटवार्ता भएको छ । बिहीबार मन्त्रालयमा भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माण लगायतका विषयमा छलफल भएको मन्त्री दाहालको सचिवालयले जनाएको छ ।

भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा चिनियाँ पक्षले चासो देखाएको छ । सीमापुल भएको स्थान जतिसक्दो छिटो अस्थायी पुल बनाउन चिनियाँ पक्षबाट प्रतिबद्धता आएको छ ।

यसैगरी चिनियाँ सहयोगमा सञ्चालित अन्य आयोजनाहरू टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथांका सडक लगायतका विषयमा पनि छलफल भएको थियो।

छलफलमा राजदूत सोङले काठमाडौ–चक्रपथ दोस्रो खण्ड विस्तारको काम छिट्टै सुरु हुने बताए । भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोग प्रति धन्यवाद व्यक्त गरे ।

आगामी दिनमा नेपाल र चीनबीच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरे । छलफलमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढी क्षतिग्रस्त बनाएको सीमापुल रहेको स्थानमा दशैंअघि नै पुल निर्माण हुने अपेक्षा राखिएको छ ।

बाढीले नेपाल–चीनको मुख्य नाका रसुवागढीबाट आवतजावतमा कठिनाइ भएपछि मन्त्री दाहालले त्यस खण्डलाई सुचारु गर्ने विषयमा चासो लिँदै आएका छन् ।