बीबीसी । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एप्सटिनसम्बन्धी “विश्वसनीय“ जानकारी सार्वजनिक गर्न महान्यायाधिवक्ता जनरल पाम बण्डीलाई आग्रह गरेका छन् ।
एप्सटिन प्रकरणमा बढ्दो दबाबका बीच ट्रम्पले पहिलोपटक बण्डीलाई निर्णयको स्वतन्त्रता दिएका छन् । बण्डीले गत हप्ता एप्सटिनसँग कुनै ‘ग्राहक सूची’ नरहेको र शक्तिशाली व्यक्तिहरूलाई ब्ल्याकमेल गरिएको प्रमाण नभेटिएको बताएकी थिइन् ।
तर उनको उक्त अभिव्यक्तिपछि ट्रम्पका समर्थकले तीव्र असन्तुष्टि जनाएका थिए । ट्रम्पले शनिबार समर्थकहरूलाई यो विषयमा ‘समय र ऊर्जा बर्बाद नगर्न’ आह्वान गरेका थिए। तर मंगलबार उनले भनाइ परिवर्तन गर्दै बण्डीको पक्षमा बोलेका हुन् ।
‘उहाँले यो विषय राम्ररी हेरिरहनुभएको छ। जुन कुरा उहाँलाई विश्वसनीय लाग्छ, त्यो सार्वजनिक गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु,’ ट्रम्पले पत्रकारहरूसँग भने । एप्सटिनसँग सम्बन्धित कुनै रेकर्डमा आफ्नो नाम रहेको हो भन्ने प्रश्नमा ट्रम्पले संक्षिप्त जवाफ दिए ,’होइन, होइन।’
यता, रिपब्लिकन पार्टीभित्रै पनि पारदर्शिता माग गर्दै आवाज उठ्न थालेको छ। प्रतिनिधिसभाका सभामुख माइक जोनसनले अमेरिकी सञ्चारकर्मी बेनी जोनसनलाई दिएको अन्तर्वार्तामा भने, ‘हामीलाई राष्ट्रपति ट्रम्प र उनको टिमप्रति विश्वास छ, तर पाम बण्डीले यस विषयमा आमजनतासामु प्रष्ट पार्न जरुरी छ।’
एप्सटिनको सन् २०१९ मा जेलमै मृत्यु भएको थियो। उनीमाथि यौन तस्करीसम्बन्धी संघीय मुद्दा चलिरहेको थियो। उनको मृत्यु आत्महत्या भएको बताइए पनि सामाजिक सञ्जाल र ट्रम्प समर्थक वृत्तमा शक्तिशाली व्यक्तिहरूलाई जोगाउन प्रमाण लुकाइएको आशंका कायमै छ ।
राष्ट्रपति ट्रम्पले यो विषय बिर्सन आग्रह गरे पनि उनका आफ्नै पार्टीका नेताहरूले अहिले पूर्ण सत्य बाहिर ल्याउनुपर्ने माग गर्दै आएका छन्।

प्रतिक्रिया