मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने घोषणा र रूसी व्यापारिक साझेदारहरूमाथि सम्भावित प्रतिबन्धको चेतावनी दिएपछि रूसले उक्त अभिव्यक्तिलाई शान्ति प्रक्रियामा प्रतिकूल असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
राष्ट्रपति ट्रम्पले रूसलाई ५० दिनको समयसीमा दिँदै युक्रेनसँग शान्ति सम्झौता गर्न आग्रह गरेका छन् । साथै, उनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सदस्य राष्ट्रहरूसँग समन्वय गर्दै युक्रेनलाई नयाँ अमेरिकी हतियार उपलब्ध गराउने योजनाको घोषणा गरेका छन् ।
रूसी प्रवक्ता दिमित्री पेस्कोभले मस्कोमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, “वाशिङ्टन तथा नेटोका राष्ट्रबाट लिइएको यस्तो निर्णयलाई युक्रेनी नेतृत्वले सम्भवतः युद्ध जारी राख्न प्रोत्साहनको रूपमा बुझ्न सक्छ । ट्रम्पद्वारा व्यक्त विचार अत्यन्त गम्भीर छन्, र त्यसको यथोचित विश्लेषण आवश्यक रहेको छ ।”
यदि उक्त अवधिमा शान्ति सम्झौता हुन नसकेको खण्डमा, राष्ट्रपति ट्रम्पले रूसका बाँकी व्यापारिक साझेदारमाथि उच्च दरको आयात कर (ट्यारिफ) लगाउने चेतावनी दिएका छन्, जसको उद्देश्य रूसको सैन्य अर्थतन्त्रमा प्रत्यक्ष असर पार्नु हो ।
हालसम्म रूसले चीन, भारतजस्ता व्यापारिक साझेदारहरूसँगको सहकार्यबाट पश्चिमी प्रतिबन्धको प्रभावलाई न्यून तुल्याउँदै आएको देखिन्छ ।
यसैबीच, डेनमार्क र नेदरल्यान्ड जस्ता युरोपेली राष्ट्रहरूले राष्ट्रपति ट्रम्पको प्रस्तावित योजनामा सहभागी हुने इच्छा व्यक्त गरेका छन् । उक्त योजनाअनुसार, अमेरिका निर्मित उच्च प्रविधियुक्त हतियार युक्रेनलाई आपूर्ति गरिनेछ । रूसले शान्ति वार्ताका लागि खुला रहनुको साथै युक्रेनी पक्षबाट समय र स्थान सम्बन्धी प्रस्तावको प्रतीक्षा गरिरहेको बताएको छ । यद्यपि, युक्रेनी नेतृत्वले वर्तमान रूसी वार्ता टोलीसँग संवाद गर्नु ‘अप्रभावकारी’ हुने धारणा व्यक्त गरेको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले अघिल्ला वार्तामा युक्रेनले सम्पूर्ण पश्चिमी सैन्य समर्थन त्याग्नुपर्ने तथा पूर्व र दक्षिणका चारवटा क्षेत्रहरूबाट सेना फिर्ता गर्नुपर्ने सर्तहरू राखेका थिए, जसलाई युक्रेन तथा उसका पश्चिमी सहयोगी राष्ट्रहरूले अस्वीकार गरेका छन् ।

प्रतिक्रिया