काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोधेको प्रश्नको जवाफ दिएका छन् ।
सामाजिक संजालमार्फत प्रधानमन्त्रीले प्रचण्डलाई जवाफ फर्काएका हुन् । सोमबारको संसद बैठकमा प्रचण्डले ‘कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट?’ भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै प्रधानमन्त्रीले बनिरहेको प्यारापिट हेर्न कीर्तिपुर जान आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीले भनेका छन्, ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ । तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।’
प्रचण्डले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री बैठकमा अनुपस्थित थिए ।

प्रतिक्रिया