संविधान संशोधनका लागि सरकार तयार भए बहुमत जुटाउने जिम्मा प्रचण्डले लिने


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनको एक दशक नपुगेको र अझै आवश्यक कानुनहरू बन्न नसकेको अवस्था औँल्याउँदै संविधान संशोधनको विषयलाई गम्भीर बहसको रुपमा अघि सारेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘संविधानले नेपाली जनताको अधिकार अझै संस्थागत गर्नुपर्दछ । उपेक्षित, उत्पीडित जाति, वर्ग, भूगोल र समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न संशोधन आवश्यक छ ।’

उनले संविधानको शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नाम, सीमाङ्कन, वित्तीय सङ्घीयता, समावेशिता र सामाजिक न्यायका विषयमा अग्रगामी संशोधन गर्न दुईतिहाई बहुमत जुटाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘यदि सरकारसँग हिम्मत छ भने प्रमुख प्रतिपक्षका नाताले त्यो बहुमत जुटाउने जिम्मेवारी म लिन्छु ।’

अध्यक्ष प्रचण्डले गणतन्त्रको भविष्यमाथि सरकारको कार्यशैलीबाट खतरा आएको दाबी गरे । उनले भने, ‘यदि गणतन्त्रमाथि कतैबाट खतरा छ भने त्यो राजावादी या अन्य कसैबाट होइन । सरकारकै कार्यशैलीबाट हो ।’