काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गतिविधिबाट आमजनतामात्र नभई सत्तारूढ दलकै नेता कार्यकर्ता समेत असन्तुष्ट रहेका बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष प्रचण्डले गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै सरकारसँग जनताको भरोसा र नैतिक धरातल बाँकी नरहेको बताएका हुन् । उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘यो एक वर्षमा तपाईँले कसको विश्वास जित्नुभयो ? कुन वर्ग लाभान्वित भयो ?’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारको विषयमा गम्भीर प्रश्न उठाएका छन् । उनले वर्तमान सरकारले सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको आरोप लगाए ।
अध्यक्ष प्रचण्डले सरकारका मन्त्रीहरू सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौंको डील गरिरहेको आरोप लगाए ।
उनले भने, ‘तपाईंका मन्त्रीहरू खुल्लमखुल्ला लाखौंको डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई के भनेर बयान दिने हो? जहाँ सरकार, त्यहीँ भ्रष्टाचार र बेथिति र विदेशसम्म प्रधानमन्त्रीले जाने हरेक स्थानमा विवाद सिर्जना किन हुन्छ ?’
प्रचण्डले नेपाली कांग्रेस स्वर्ग र नर्ककै गोलचक्करमा परेको टिप्पणी गरे । उनले भने, ‘संसद्को सबैभन्दा ठूलो दल हो, कांग्रेस । एकपछि अर्को स्वेच्छारिताका शृंखलाहरू जसरी अगाडि बढाइएका छन्, जसरी अहंकार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छ । यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको देखिएको छ ।’

प्रतिक्रिया