मन्त्रीको घुसकाण्डको अडियोले सुशासनको सवालमा हामी अत्यन्त कमजोर रहेको पुष्टि भयोः विवेकशील साझा


काठमाडौं । विवेकशील साझा पार्टीले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री वलराम अधिकारी बर्खास्त गर्न माग गरेको छ ।

विवेकशील साझाले सोमबार विज्ञप्ति जारी गरी भ्रष्टाचारमा संलग्न भएको समाचार र अडियो छताछुल्ल सार्वजनिक भइसक्दा पनि उनीहरु पदमै रहिरहेकोप्रति आपत्ति जनाएको हो ।

पार्टीले भ्रष्टाचार जस्तो जघन्य अपराधमा मुछिएका दुबै मन्त्रीलाई तत्काल बर्खास्त गरी कार्बाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

जनताको करवाट श्रृजित राज्य सुविधाको उपयोग गरिरहेका मन्त्रीद्वय गुप्ता र अधिकारीमाथि लागेको सार्वजनिक भ्रष्टाचारको आरोप छताछुल्ल हुँदा पनि उनीहरुलाई बर्खास्त नगर्नुले भष्टाचारको सुई सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि फर्किन सक्ने सम्भावनालाई विवेकशील साझा पार्टीले मिहीन ढंगले अन्वेषण गरिरहेको बताएको छ ।

भ्रष्टाचारको दर्जनौं प्रकरण र काण्डहरुको न्यायिक निरुपण नभइरहेको अवस्थामा बहालवाला मन्त्रीहरु प्रत्यक्ष संलग्न भएको भ्रष्टाचार काण्डले सुशासनको सवालमा हामी अत्यन्त कमजोर अवस्थामा गुज्रिरहेको ऐना फेरि सार्वजनिक भएको पार्टीले उल्लेख गरेको छ ।

विवेकशील साझाले भ्रष्टाचारको यो प्रकरणलाई अत्यन्त गहन अनुसन्धान गर्न र आवश्यक कदम चाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोसमेत विशेष ध्यानाकर्षण गराएको छ ।