यस्तो छ सरकारको एकवर्षको कामप्रति प्रधानमन्त्रीको समीक्षा


काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा सरकार बनेको एक वर्ष पुगेको छ । सरकार गठनको एक वर्ष पुगेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एकवर्षमा सरकारले उल्लेख्य काम गरेको बताएका छन् ।

सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले यस बीचमा मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक देखिएका बताएका छन् । त्यस्तै उनले विकासका राष्ट्रिय आयोजनाहरुको कामले गति लिएको र टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलनको सुरुवात भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ। यस बीचमा मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरुको कामले गति लिएको छ । टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ । नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरु संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ। गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ।सबैमा नमन, सबैलाई धन्यवाद !’