इजरायली आक्रमणमा इरानी राष्ट्रपति घाइते


बीबीसी । इजरायली आक्रमणमा इरानका राष्ट्रपति मसुद पेजेसकियान घाइते भएको खुलेको छ । इरानको सरकारी समाचार संस्था फार्सले दिएको जानकारीअनुसार, १६ जुनका दिन तेहरानस्थित एक गोप्य भूमिगत सैन्य केन्द्रमा आयोजित आपतकालीन बैठकमा सहभागी रहँदा उनी घाइते भएका थिए ।

फार्सका अनुसार, इजरायली सेनाले राजधानीको उत्तर–पश्चिम भागमा रहेको उक्त भूमिगत केन्द्रमा एकैपटक ६ वटा बम प्रहार गरेको थियो । ती बमहरू केन्द्रको मुख्य प्रवेश, निकास र भेन्टिलेसन प्रणालीमा लक्षित थिए ।

राष्ट्रपति सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठकमा सहभागी थिए र आक्रमणपछिको भगदौडमा आपतकालीन सुरुङ प्रयोग गरी सुरक्षित निस्किने क्रममा खुट्टामा सामान्य चोट लागेको जनाइएको छ ।

तेहरानको उक्त गोप्य केन्द्रमा आक्रमण भएको समाचार पहिलोपटक सार्वजनिक भएपछि क्षेत्रीय सुरक्षा चिन्ताहरू झनै गहिरिएका छन्।

सामाजिक सञ्जालमा युद्ध अवधिभर देखापरेका भिडियोहरूमा तेहरानको पहाडी क्षेत्रमा गरिएका निरन्तर बम आक्रमण देखिएका थिए । इजरायलले हालसम्म यस विषयमा कुनै औपचारिक टिप्पणी गरेको छैन भने फार्सको रिपोर्ट स्वतन्त्र रूपमा पुष्टि भएको छैन।