यमन । यमनले लामो समयदेखि जारी द्वन्द्वका बीच पुनः फैलिन थालेको पोलियो रोग रोकथाम गर्न १३ लाख ५० हजार बालबालिकालाई लक्षित गर्दै तीन दिने खोप अभियान सुरु गरेको छ । शनिबारदेखि सुरु भएको यस अभियानबारे सरकारी सञ्चारमाध्यमले जानकारी दिएको हो ।
यो अभियान अन्तर्गत झन्डै सात हजार स्वास्थ्य टोलीले घर–घरमा गएर पोलियो खोप प्रदान गर्नेछन् । अभियान १२० अत्यधिक जोखिमयुक्त जिल्लामा केन्द्रित छ ।
सरकारको नियन्त्रणमा रहेका १२ क्षेत्रमा सञ्चालन भइरहेको अभियानको आवश्यकता बढ्दो सङ्क्रमण दरले देखाएको छ । बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय संस्था र विश्व स्वास्थ्य निकायका अनुसार सन् २०२० यता यमनमा पोलियोका २८२ नयाँ सङ्क्रमण भेटिएका छन्, जसमा ९८ प्रतिशत पाँच वर्षमुनिका बालबालिका छन् । युद्धका कारण सन् २०२३ मा देशभर पोलियो खोप दिने दर ४६ प्रतिशतसम्म झरेको थियो ।
विश्व स्वास्थ्य संगठनको यमन प्रतिनिधि फेरीमा कुलबिबाली जेर्बोले भने,’यमनमा लामो द्वन्द्व, कमजोर स्वास्थ्य प्रणाली र खोपको न्यून पहुँचका कारण पोलियो पुनः फैलिने ठूलो जोखिममा छ । यस्तो अवस्थामा खोप अभियान अत्यावश्यक छ ।’
त्यसैगरी बाल संरक्षण संस्था युनिसेफका प्रतिनिधि पिटर हकिङ्सले भने,’खोप नलगाइएका बालबालिकाका लागि पोलियो अझै गम्भीर खतरा हो। खोपमार्फत हाम्रा बालबालिकालाई सुरक्षित राख्न सकिन्छ।’
यमन सन् २०१४ यता गृहयुद्धमा फसेको छ । विद्रोही समूहले राजधानी साना र देशको उत्तरी भूभाग नियन्त्रणमा लिएपछि सन् २०१५ मा छिमेकी मुलुकहरूको गठबन्धनले मान्यता प्राप्त सरकारको समर्थनमा हस्तक्षेप गरेको थियो ।
युद्धका कारण यमन हाल विश्वकै एक गम्भीर मानवीय संकटमा परेको मुलुक बनेको छ, जहाँ करोडौँ नागरिक भोक, गरिबी र सेवा सुविधाको अभावमा जीवन यापन गरिरहेका छन् ।

प्रतिक्रिया