जेनजी पुस्ताको गुरुपूर्णिमा


डा. गोविन्दशरण उपाध्याय । 

(१) साच्चिकै भन्ने हो भने मैले धेरै समयसम्म ‘जेनजी’ भनेको के हो भन्ने बुझेकै थिइन ।  जुन दिन र जुन स्रोतबाट बुझें अचम्म लाग्दो गरी बुझें । आज गुरूपूर्णिमाको दिन, विद्यालय शिक्षामा वा कलेज शिक्षामा प्रवेश गरेका केही जेनजी (Gen Z) आफ्ना शिष्यहरूबाट टीका, उपहार वा मीठो शुभकामना ग्रहण गरेका होलान् ? ती मध्ये कतिजनालाई जेनजी (Gen Z) पुस्ताको अर्थ थाहा छ ? भन्न सक्दिन ।  मिडियाहरूले जेनजी (Gen Z) हुनु निकै गौरवको तत्थ्य भएको झैं प्रसार गरिरहेका छन् ।

(२) जेनजी (Gen Z) पुस्ता भनेको सन् १९९७ देखि २०१२ का विचमा जन्मेको हुनुपर्छ भन्ने मान्यता रहेछ ।  यो पुस्ताका विशेषताहरूमा २० औं र २१ औं शताब्दिमा जन्मिएको, डिजिटल रूपमा निकै सक्रिय, सामाजिक न्याय, पर्यावरण संरक्षण, लैङ्गिक समानता र मानसिक स्वास्थ्यमा धेरै संवेदनशील, प्रायोगिक/व्यावहारिक स्वभाव भएका, मनोरञ्जनमा डिजिटल विश्वलाई मन पराउने, कुनै पनि प्रकारको सामाजिक, धार्मिक, सांस्कृतिक तथा नैतिक बन्धनहरूलाई अस्वीकार गर्ने, व्यक्तिगत स्वतन्त्रतालाई अत्याधिक महत्व दिने, यौनजन्य क्रियाकलापमा कुनै पनि प्रकारका बन्धनहरूलाई अस्वीकार गर्ने र राजनीति प्रति चासो नदिने हुन्छ भन्ने परिभाषा रहेछ ।  सारमा, जेनजी पुस्तालाई चरमभौतिकवादी भन्न मिल्छ होला ।

(३) गुरूपूर्णिमा नेपालको मौलिक पर्वहरू हो ।  खुसीको कुरा के हो भने हिजो गुरुपूर्णिमालाई महत्व नदिने समुदायहरूले पनि आज शिक्षादीक्षा दिने गुरूहरूलाई धन्यवाद दिन गुरूपुर्णिमाको उत्सव मनाउन आरम्भ गरेका छन् ।  शैली फरक होला तर कुनै पनि (इसाई र मुस्लिम बाहेक) सबैले गुरूप्रति धन्यवाद भन्न बालबालिकाहरूलाई प्रेरित गरिरहेका छन् । त्यस्तै नेपाल र नेपालीका मौलिक चाडपर्वहरूप्रति अभिरुचि र मान्ने चेतना निकै बढेको छ ।  रमाइलो कुरा त के हो भने यी पर्वहरूमा सबैभन्दा सक्रियता देखाउने पनि यही पुस्ता बनेको छ ।  जेनजी (Gen Z) पुस्ताका नाममा यो पुस्तालाई दिग्भ्रमित गर्ने काममा जेनजी (Gen Z) पुस्ताको अर्थ नबुझ्नेहरू उफ्रेको सुन्दा दिक्क लाग्छ ।

(४) जेनजी (Gen Z) पुस्ता नै अहिलेको सबैभन्दा सक्रिय जनशक्ति हो – यसमा कुनै शंका छैन ।  जेनजी (Gen Z) पुस्ता पुरानो पुस्ता भन्दा टेक्नोलोजीमा निपूर्ण छ, यो पनि सत्य हो ।  जेनजी (Gen Z) पुस्ताले अधिकतम तार्कीक, सृजनशील र न्यायप्रिय छ – यो पनि सत्य हो तर अधिक संबेदनशीलता र महत्वकाक्षी जीवनशैलीको चाहनाले र त्यसको प्राप्तिका विचमा अवरोध हुँदा सबैभन्दा मानसिक रूपमा दु:खी, अवसादपूर्ण र असम्बेदनशील पुस्ता पनि यही बन्न सक्छ भन्ने तत्थ्य लुकाउन मिल्दैन ।  नेपालजस्तो देश जसले राजनैतिक स्थायित्व प्रदान गर्न सकेको छैन, संबिधानले आधारभूत अधिकार भनेर तोकेका विषयवस्तुप्रति जालझेल गरिन्छ, यस्तोमा जेनजी (Gen Z) पुस्तासंग पलायन, अवसाद वा गुण्डागर्दी बाहेकको विकल्प रहन्न ।

(५) सांख्य दर्शनले सक्रियताका लागि रजोगुणको प्रभाव ठान्छ | रजोगुण मूलत: शक्ति, सक्रियता तथा गतिशीलताको प्रतिक हो ।  जेनजी (Gen Z) पुस्ता उमेरको हिसावले पनि सबैभन्दा सक्रिय हुनुपर्छ ।  सायद, आधुनिक टेक्नोलोजी नभएको अवस्थामा पनि यो उमेर समुहका व्यक्तिहरू सक्रिय नै हुन्थे ।  सामाजिक, सांस्कृतिक, धार्मिक र राजनैतिक मर्यादाहरूलाई भन्दा इन्टरनेटको भर्चुअल विश्वलाई महत्व दिने पुस्ताको अस्तित्व इन्टरनेटले प्रमाणित गरिदिनु पर्ने र इन्टरनेटको अभावको सम्झना गर्दा होस् वा मोबाइल वा कम्युटरको स्क्रिनमा बस्न नपाउँदा मानसिक रूपमा अस्थिर हुने र प्रत्यक्ष विश्व भन्दा इन्टरनेट विश्वका कुरालाई बढी महत्व दिने पुस्ताको सक्रियता फलवादी हुनेछ भन्ने विषयमा भविष्यलाई कुर्नु पर्ने छ ।  सक्रियताले विकास र विनाश दुवै निम्त्याउँछ ।

(६) मैले पाँच दशक परे गरें ।  ११ वर्षको उमेरमा पहिलोपटक (एक दिन हिंडेर) बस गुडेको देखें ।  १२ वर्षको उमेरमा पहिलोपटक ट्रकमा सवारी गरें । त्यस बखत ट्रक होइन पृथ्वी दौडेको देखें । घर फर्केपछि आफ्ना पुस्तालाई रोमान्चक ट्रकको चढाई बखान गरे । त्यो बखान सुन्नेहरूमा ७० वर्षको उमेरमा पनि स्वचालित बाहन नदेखेकी मेरो हजुरआमा हुनुहुन्थ्यो । सन् १९८७ पहिलोपटक कम्युटर देखें । पिताजी स्वर्गारोहण भएको समाचार लेखेको चिठी मसँग पुग्न दुई महिना लागेकी थियो । तर आज मैले पनि जेनजी (Gen Z) पुस्ताहरूलेझैं कम्प्युटरको स्क्रिन खोलेर, की-बोर्डमा टाइप गरेर गुरूपुर्णिमाको शुभकामना दिंदै छु र मोबाइलको स्क्रिन हेरेर आफुलाई आएका शुभकामना संदेशमा हर्टको साइन ठोक्दै छु । उमेरले म जेनजी (Gen Z) पुस्ता होइन तर मजस्ता मान्छेलाई जेनजी (Gen Z) हुँदैहोइन भन्न मिल्दैन ।

(७) सत्य हो कि टेक्नोलोजीले मान्छेको जीवनशैलीमा, चिन्तन र व्यबहारमा परिवर्तन ल्याउँछ । म र अहिलेको पुस्तामा यो पुस्तान्तरण हुनुपर्छ र छ । यसको अर्थ नैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र राजनैतिक मान्यताहरूप्रति स्वच्छन्दता वा निरपेक्षताको भाव हुनु ‘प्रगतिको सूचक’ भनेर व्याख्या गर्नु उचित होइन । राजनीतिले टेक्नोलोजीको दिशा निर्धारण गर्छ, लक्ष निर्धारण गर्छ | आवश्यकताले अन्वेषण सुनिश्चित गर्छ । उपयोगको सहजताले प्रति वा सेवाप्रतिको आकर्षण बढ्छ । तर यदि सुखसुविधा वा स्रोतसाधनहरूको उपलब्धि अन्यायपूर्ण छ भने मान्छेभित्र रहेको बिद्रोह जेनजी (Gen Z) पुस्तामा पनि सल्किन्छ । विश्वका धेरै सरकारहरूले यो तत्थ्य राम्ररी बुझिसकेका छन् तर नेपाली राजनैतिक नेतृत्व यस विषयमा सचेत छैन । आशा गर्छु, जानकार छ ।

(८) जेनजी (Gen Z) पुस्ता र जेनजी (Gen Z)पछिका पुस्ताहरूले गुरूपुर्णिमाको चाडलाई वैश्विकतहमा पुर्याइदिएका छन् । मेरो पुस्ताले यस्तो कल्पना पनि गर्न सक्ने थिएन । जसरी जेनजी (Gen Z)ले खुसीको, सन्तोषको, सुखको, नयाँ कुरा खोजेको र रमाइलो कुरा एकै मिनटमा विश्वसंग साट्ने क्षमता राख्छ, त्यसै उसले आफ्नो असन्तोष, आफूप्रतिको अन्याय, विभेदजस्ता भोगाईहरूलाई पनि एउटा क्लिकमा ८.५ अर्ब मान्छेमा पस्कन सक्छ । आज पनि जेनजी (Gen Z) पुस्ताले गुरूपुस्ताहरूलाई समुचित सम्मान गरिनै रहेको छ तर गुरूपुस्ता (राजनैतिक नेतृत्व)ले जेनजी (Gen Z)ले दिएको सम्मानको उत्तर कसरी दिने छ ? भन्ने तत्थ्यले भविष्यको व्यक्ति, समाज, देश र विश्वले सुखदु:खको आशा गरे हुन्छ । नैतिकता चेतना र व्यबहार दूवैमा प्रत्यक्ष अनुभव हुनुपर्छ । नत्र जेनजी (Gen Z) पुस्ता निकै खतरापूर्ण सङ्केत बन्न सक्छ ।