चरोमुसोले पनि नपढ्ने कोर्स पढ्न १५-२० लाख खर्चेर विदेश आउनु बुद्धिमानी होइन


-नारायण गाउँले ।

कृपया तीन पल्ट सोच्नुहोला । पहिलो त शारीरिक र मानसिक रूपमा कलिलै बालबच्चालाई विदेश पठाउने सोचमा एकपल्ट पुनः सोचको आवश्यकता छ । युकेमा राम्रो विश्वविद्यालय र कोर्स पाउन यहीँका विद्यार्थीलाई पनि सजिलो छैन । वर्षमा एकपल्ट मात्रै भर्ना खुल्छ र त्यो पनि मनखुशी छान्न पाइन्न । हाम्रो मेडिकल इन्ट्रान्सजस्तै एकद्वार प्रणाली छ । तर तपाईंको बच्चालाई कन्सल्टेन्सीले वर्षको जुनसुकै महिना पनि भर्ना गराई रहेका छन् भने बुझ्न पर्यो, त्यो कोर्स ‘मेन–स्ट्रीम’को कोर्स नभई पैसा कमाउन बनाइएको कच्चा कोर्स हो । न परीक्षा, न छनोट, न विद्यार्थी सङ्ख्या, न योग्यता, न भर्नाको खास समय…अनि त्यो डिग्रीचाहिँ कत्तिको मूल्यवान् होला त ?

‘एमएस्सी इन नर्सिंग लीडरशीप’ भन्ने जस्तो कोर्स बनाउँछन् । ब्याचलर पनि नसकेको नेपालीलाई समेत यसो अनुभव–सनुभव जोड्ने भन्दै भर्ना गर्छन् । हप्ताको एक दुई दिन पढाएजस्तो गरेर एकदुई वटा ‘असाइनमेन्ट’ गर्न लगाउँछन् । डिग्री हुन्छ । तर त्यो कोर्सले न रजिस्ट्रेशन हुन्छ न लीडरशीप नै । क्लिनिकल नलेज र अनुभव नभई केको लीडरशीप हुन्छ र ! यो त उदाहरणमात्रै हो । यहाँको एउटा चरोमुसोले पनि नपढ्ने त्यस्तो कोर्स पढ्न १५-२० लाख खर्चेर आउनु बुद्धिमानी होइन । केयरगीभरको जब गर्न २० लाखको डिग्री चाहिन्न ।

जस्तो डिग्री भए पनि नेपालको भन्दा त राम्रो होला भन्नु पनि गलत हो । आजको परिवेशमा नेपालकै विश्वविद्यालय र कलेजबाट लिइएका डिग्री पनि विश्वभर स्वीकार्य छन्, सम्मानित छन् र तुलनात्मक रूपले निकै सस्ता छन् । अझ स्वास्थ्य, इन्जीनियरिङ्, आइटी, साइन्स र गणितजस्ता विषय र क्षेत्रमा त हाम्रो डिग्री नगदै बिक्न सक्ने खालका गुणस्तरीय र प्रतिष्पर्धी छन् । हाम्रा विश्वविद्यालयमा आज पनि हप्ताको चार–पाँच दिन कक्षाकोठामैं पढाइ हुन्छ । क्याम्ब्रिजदेखि हार्वर्ड र एआईदेखि ई–लाब्रेरीसम्मका बाह्य साधनस्रोत त इन्टरनेटको यो जमानामा काठमाडौंमैं उपलब्ध छ । स्नातक तह भनेको पढ्नै पर्ने र मिहिनेत गर्नै पर्ने तह हो । शैक्षिक जीवनको ’बेस’ नै त्यही हो । बेस भएको जनशक्ति आज जहाँ पनि बिक्छ । हप्ताको एकदुई दिन कलेज गएर, दुई तीन दिन काम गरेर बेस बनाउन मुश्किल छ । पाँच लाखमा विश्वस्तरको डिग्री घरनजिकै या आफ्नै देशमा लिन सकिन्छ भने किन १५ लाख तिर्ने गरी त्यति टाढा जानु !

तेस्रो र मुख्य कुरो तपाईंका छोराछोरीले पाउने दुःख र मनोवैज्ञानिक क्षति हो । युके महँगो छ । एक त विद्यार्थी भन्नेबित्तिकै काम पाउन मुश्किल छ । अलिअलि पाए पनि त्यसले कोठाभाड़ा तिर्न, खान र कलेज शुल्क तिर्न पुग्दैन । एउटा सानो कोठामा चार जना सुत्ने, पाउरोटी र जाम खाएर हप्ता बिताउने, दिनभर काम गरेर चार घण्टाको ज्याला बुझ्ने उमेर हो र यो ? कोठामा चार जनाको सुटकेश मात्रै राख्दा पनि उभिने ठाउँ पुग्दैन । कसरी गुजारा होला ? अझ पैसा फिर्ता पठाउने प्रेसर छ भने त बच्चा रोगी हुन्छ । बिरानो भूमिमा यति धेरै तनाव झेल्न तपाईंको बच्चा सक्षम छ त ?

दुःख गरेर पढ़ेपछि भोलि केही हुन्छ कि भन्ने पनि हुन्छ । क्लियर बाटो देख्नुभएको छ भने राम्रो हो । तर होला नि भन्ने हो भने त पठाउँदै नपठाउनुहोला । नीतिनियम यति कड़ा र असहयोगी छन् कि पढेर फर्किनेबाहेक अर्को उपाय लगभग बन्द छ । वर्कपरमिटका लागि ४१ हजार वार्षिक तलब चाहिन्छ । त्यो कति धेरै हो भन्ने बुझ्न नर्स या डाक्टरको तलबले मद्दत गर्ला । स्नातक तह सकेर जागीर सुरु गर्दा नर्सको तलब ३१ हजार हुन्छ । डाक्टरको तलब ३३ हजारबाट सुरु हुन्छ । तपाईंको छोरालाई माथि भनेजस्तो कोर्स गरेर ४१ हजारको जागीर कमैले दिन सक्छन् । रेस्टुरेन्टदेखि केयरवर्करसम्मका सस्ता रूट बन्द हुँदै छन् ।
कन्सल्टेन्सी चलाइरहनु भएकाहरूले पनि कृपया कलिला बालबच्चालाई लोभ्याउने काम नगर्नुहोला । पाप लाग्न सक्छ ।
हो, विश्वप्रसिद्ध विश्वविद्यालयमा ज्ञान निखार्न, एउटा मूलधारको अनुसन्धानमूलक डिग्री लिन, विश्व चिन्न र अनुभव बटुल्न अनि त्यसैलाई प्रयोग गरेर करियर बनाउन चाहनुहुन्छ र आर्थिक रूपले सक्षम हुनुहुन्छ भने पक्कै युके राम्रो छ । तर त्यसको लागि सुरुमैं स्पष्ट हुन आवश्यक छ । त्यही लक्ष्य अनुसारको विश्वविद्यालय र कोर्स छान्न जरूरी छ । कम्तिमा स्नातक सकेर स्नातकोत्तर गर्न पठाउनुहुन्छ भने पनि ठीक छ ।

तर, जे भए पनि छिरे भयो भन्न, काम गर्दै पढ्दै गर्न, पढेर ऋण तिर्न या सेटल हुन्छ भन्ने जस्तो सपना पूरा गर्न पठाउनुहुँदै छ भने कृपया यो निर्णयबारे एकपल्ट पुनर्विचार गर्नुहोस् । धेरै बालबच्चा ‘डिप्रेशन’को स्थितिमा छन् । बरु त्यति पैसा त्यहीँ लगानी गरेर आईटी विज्ञ बनाउनुहोस् र काम गर्न पठाउनुहोस् । न विज्ञता, न पैसा हुने गरी नपठाउनुहोस् । कम्तिमा बेलायत त्यसका लागि फिट छँदै छैन । हिजो थियो, आज छैन । भोलि झन् टाइट हुँदै छ । अनि मेयरजीहरूलाई पनि एउटा अनुरोध छ । विश्वभर धेरै शहर घुमियो । हाम्रोजस्तो विदेश पठाउने तूल, ब्यानर र होर्डिंग बोर्डले प्रदूषित शहर अर्को भेट्न बाँकी छ । सोच्नुहोला । धेरैले दुःख पाएको सुनेर, देखेर र बुझेर यत्ति नलेखी मन नमानेर हो । बाँकी तपाईंको जिम्मा !