अमेरिकाको शुल्क स्थगनको निर्णयले विश्वव्यापी व्यापार अनिश्चितता झनै गहिरिने राष्ट्रसङ्घको चेतावनी


जेनेभा । संयुक्त राष्ट्रसंघले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित आयात शुल्क केही हप्ताका लागि स्थगन गरिएको निर्णयले विश्वव्यापी व्यापार वातावरणमा अनिश्चितता झनै गहिरिएको चेतावनी दिएको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि अप्रिल २ मा सबै मुलुकका सामानहरूमा कम्तीमा १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए । तर बजारमा देखिएको अस्थिरता पछि उहाँले ती शुल्कहरू जुलाई ९ सम्म स्थगन गर्ने निर्णय गरे । पछिल्लो निर्णयअनुसार, सम्झौता गर्न समय दिनका लागि यो म्याद अब अगस्ट १ सम्म लम्ब्याइएको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आईटीसी) की निर्देशक पामेला कोक–ह्यामिल्टनले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘शुल्क केही समयका लागि रोकिए पनि, यो निर्णयले व्यापारिक अनिश्चितता अझ लम्ब्याएको छ । यस्ता अवस्थाले लगानी र दीर्घकालीन व्यापार सम्झौताहरूमा नकारात्मक असर पार्न सक्छ ।’

उनले व्यापारका लागि स्थायित्व र पूर्वानुमानयोग्यता अत्यावश्यक हुने स्पष्ट पारे । ‘नियम पटक–पटक बदलिदा व्यवसायले भविष्यको योजना बनाउन सक्दैन,’ उनले भने ।

कोक–ह्यामिल्टनले हालका व्यापारिक चुनौती केवल अमेरिकासँग मात्र सीमित नरहेको उल्लेख गरे । युक्रेन युद्ध, आपूर्ति समस्या, वस्तुको मूल्यवृद्धि र घट्दो अन्तर्राष्ट्रिय सहयोगले विश्व व्यापारमा थप दबाब सिर्जना गरेको बताउँदै उनले यो समयलाई ‘एक प्रकारको संकटको आँधीबेहरी’ भनेर चित्रण गरे ।

यद्यपि, उनले विकासशील देशहरूले आफ्ना क्षेत्रीय बजार बलियो बनाउन, आफ्नै देशमै प्रशोधन प्रक्रिया बढाउन, साना व्यवसायलाई प्रवद्र्धन गर्नेजस्ता उपायबाट केही स्थायित्व र नयाँ अवसरहरू पाउन सक्ने उल्लेख गरे । साथै, चीनले अफ्रिकी देशहरूलाई आफ्नो बजारमा शुल्करहित पहुँच दिने घोषणा एउटा सकारात्मक सम्भावना भएको उनले बताए ।