काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिजले भारत र उत्तरी छिमेकी चीनलाई सडक मार्गले जोड्ने बताएका छन् ।
आज हुम्ला जोड्ने कर्णाली करिडोरको पुल उद्घाटन गर्न जानुअघि सामाजिक संजालमार्फत प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, हुम्ला जाने कुरा बताइरहनु पर्ने त होइन, तर आज विशेष उत्साह लिएर खार्पुनाथ हुम्ला जाँदै छु। किनभने आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने छ। यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ हुन्छ र हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ । ४१० किलोमिटर यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्छ र हाम्रो वैदेशिक व्यापारलाई सहयोग पुग्छ। अनि यसले सडक सञ्जालमा जोडिन बाँकी एकमात्र जिल्ला हुम्लालाई राष्ट्रिय राजमार्गमा पनि जोड्ने छ । कर्णाली करिडोर सडक जोडिएपछि एक युवाले एआई प्रयोग गरी बनाएर पठाएको यो भिडियो र आजको हुम्ला यात्राले मलाई भावनात्मक र उत्साहित बनाएको छ।’

प्रतिक्रिया