-डा. गोविन्दशरण उपाध्याय ।
प्रकृतिले हिरा र गोवरमा कुनै भिन्नता पाउँदैन । मान्छेले मूल्य निर्धारण गर्छ र त्यसै मूल्यका आधारमा युद्ध र प्रेममा प्रवेश गर्छ । विजय त प्रेमका मध्यमले पनि प्राप्त गर्न सकिन्छ तर युद्ध नै विजयका लागि पहिलो अभ्यास हुन्छ । मान्छेको इतिहास क्रुर युद्धहरूले भरिएको छ । मान्छेले आफ्नो इतिहासलाई सभ्य, दयालु, प्रेमिल भन्ने जलप नलगाए हुन्छ । बुद्धिमान मान्छेको इतिहास सबैभन्दा डरलाग्दो, घृणित र हत्यारो छ ।
उपर्युक्त सबै कुरा मान्छेले गास,वास कपास र यौनका लागि मच्चाएको वितन्डा थियो । आज वितन्डाको स्वरूप फेरिएको छ । सुख, सम्पति, शक्ति र अहङ्कारको स्वरूप फेरिएको छ । अब मान्छेले तलवारले युद्ध लड्न पर्दैन त्यसैले एटम बम बनाएर, पैसाको मूठो कमाएर, अन्य देशहरूका प्राकृतिक स्रोतहरूमा सम्झौताजन्य अधिकार जमाएर आफु र आफन्तलाई सुखी बनाउने प्रयत्न गरिरहेको छ । अन्य देशका प्राकृतिक तथा बौद्धिक संसाधनहरू बुद्धिको बलमा प्रयोग गर्नेहरू सभ्य र बलियो मानिएका छन् ।
आज प्राचीनकालझैं मान्छेले खेतखालिहान आगो लगाएर नष्ट गर्दैन तर आफ्नो अनुकुल नचल्नेहरूलाई आर्थिक र राजनैतिक अंकुश लगाएर बम प्रहार गर्छ । मान्छेको लोभ, सुखको लालच र जीवनप्रतिको मोह अझैं बढ्दो छ । मान्छेभित्रको क्रुरता कम भएको छैन, तेसले केवल स्वरूप परिवर्तन गरेको हो । इतिहासका मान्छेहरूले तलवारले काटेर आफ्नो शक्ति प्रदर्शन गर्थे भने आजको मान्छेले बुद्धिको प्रयोग गरेर जिउदै मार्छन् । प्राकृतिक दोहनमा अवरोध उत्पन्न गर्ने जुनसुकै व्यक्ति वा राष्ट्रको मृत्यु सुनिश्चितझैं छ ।
धेरै सुन हुने व्यक्ति किन धनि मानिन्छ ? किन उसले विश्वका जुनसुकै प्राकृतिक–अप्राकृतिक संसाधनहरूलाई प्राप्त गर्न सक्छ ? सायद, मान्छेहरूले आविष्कार गरेको सबैभन्दा विभेदपूर्ण तथा क्रुरतम ‘मान्यता’ नै यही हो । अनुपयोगी हिरा निकै मूल्यवान् ठान्ने मानसिकता र जीवनका लागि अनिवार्यरूपमा चाहिने हावा, पानी र अन्नको मूल्य न्यून रहने ‘मान्यता’ नै खतरनाक आविष्कार हुन् । अनुपयोगी, अतिरिक्त र अचम्म लाग्दा बस्तुहरू किन मूल्यवान् हुने मान्यता स्थापित गरियो ? यस विषयमा सायद बहस चल्नेवाल छैन ।
अनुपयोगी कोहेनुर हिरालाई मूल्यवान् बनाउने मान्यता र त्यसको मूल्यलाई स्वीकार गरेर ‘धनवान्, शक्तिवान’ बन्ने अहङ्कार मानवीय विश्वको सबैभन्दा दुर्भाग्यपूर्ण अवस्था र व्यबस्था हो । विगतका मान्छेहरूले कोहेनुरजस्ता अनुपयोगी वस्तुको प्राप्तिका लागि विश्वभरी करोडौं मान्छेहरूको निर्ममतापूर्वक हत्या गरेका छन् । आज भोजनका लागि भन्दा बढी सुख प्राप्त गर्ने स्वार्थका कारण ‘संसाधनहरू’ प्राप्त गर्न क्रुरतापूर्ण व्यबहार गरिन्छन् । मानवीय र मानवता मान्छेले आफ्नो अहङ्कार, स्वार्थ र क्रुरता लुकाउन प्रयोग गर्ने सुन्दर जलप हो भन्न मिल्छ ।
प्रकृतिले युद्ध लड्दैन । प्रकृतिले प्रेम र घृणा दुवै गर्दैन । प्रकृतिमा अहङ्कार छैन । मूल्यप्रतिको आकर्षण र विकर्षण छैन । मान्छेले प्रकृतिलाई दोहन गरिरहेको छ । प्रकृतिलाई क्षति पुर्याइरहेको छ । मान्छेभित्रको स्वार्थ निर्मम हुँदैछ । प्रकृतिलाई जित्ने अहङ्कार मात्र होइन मान्छेले मान्छेलाई जित्नै पर्ने, आधिकतम सुखी हुने पर्ने चाहना सीमारहित हुँदैछ । प्रकृतिसँग मान्छेले युद्ध लडिरहेको छ, एकोहोरो युद्ध लडिरहेको छ । केही स्वार्थी मान्छेहरूको व्यक्तिगत लडाईंमा निर्दोषहरू अवचेतनरूपमा जोडिन बाध्य बनाउने ‘मान्यता’ हरूको जित हुँदैछ । सायद, भविष्यमा यस्तो मान्यता अझैं क्रूर, निर्दयी र विनाशक भएर प्रकट हुने छ । आत्मविनाश यसको अन्तिम परिणाम हुने छैन भनेर भविष्यवाणी गर्न सकिने थुप्रै साक्ष छन् ।

प्रतिक्रिया